काठमाण्डौ । एकैदिन ९१ हजार बढीमा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै भारत विश्वमै सबैभन्दा धेरै संक्रमित भएको दोश्रो मुलुकमा उक्लिएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोभिड १९ का ९१ हजार ७२३ संक्रमित फेला परेका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । 

भारतमा पछिल्लो पटक थपिएको संख्या एकदिनमै सबैभन्दा बढी संक्रमित भेटिएको नयाँ रेकर्ड पनि हो । हालसम्म कुनै पनि मुलुकमा एकदिनमै ९१ हजार बढी संक्रमितको पहिचान भएको छैन । 

यसअघि ब्रजिलभन्दा पछाडि रहेको भारत धेरै संक्रमित फेला पर्ने मुलुकको दोश्रो स्थानमा आइपुगेको हो । ४१ लाख ३७ हजार संक्रमितसँगै ब्रजिल तेश्रो स्थानमा छ भने ६४ लाख ६० हजार संक्रमितको संख्यासहित अमेरिका पहिलो स्थानमा छ । 

पछिल्लो २४ घण्टामा अमेरिकामा ३१ हजार बढी, ब्रजिलमा १४ हजार हाराहारीमा मात्र संक्रमित फेला परेका छन् । भारतमा भने एकैदिन ९१ हजार बढी संक्रमित फेला पर्नुले त्यहाँको संक्रमण दर निकै तीव्र बनिरहेको देखिएको छ । 

हाल ब्रजिलपछि रसिया १० लाख २५ हजार संक्रमित संख्यासँगै चौथो स्थानमा छ । कोरोना भाइरसविरुद्ध खोप तयार भएको भनिएको यो मुलुकमा पनि पछिल्लो २४ घण्टाभित्र ५ हजार १०० बढी संक्रमित फेला परेका छन् । 

कुल मृत्युमा समेत भारत अगाडि बढ्नसक्ने संकेत देखिएको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा १ हजार ८ संक्रमितको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ७१ हजार ६८७ पुगेको छ । 

कोरोनाबाट मृत्यु हुनेहरुको संख्याको हिसाबले भारत तेश्रो स्थानमा छ । पहिलो स्थानमा अमेरिका रहेको छ, जहाँ कोरोनाका कारण १ लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् । 

यस्तै, ब्रजिलमा १ लाख २६ हजार ८०० बढीले ज्यान गुमाइसकेका छन् । 

पछिल्लो २४ घण्टामा भने सबैभन्दा बढी मृत्युको केश भारतमा देखिएको छ । यो अवधिमा अमेरिकामा ४३२ र ब्रजिलमा ४५६ संक्रमितको मृत्यु भएको देखिएको छ । 

भारतमा हाल ८ लाख ८३ हजार  ५७८ सक्रिय संक्रमित रहेका छन् । ३२ लाख ४७ हजार २९७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।