काठमाण्डौ । सन् २०२१ कतिपयका लागि सुखद् रह्यो भने कतिपयका लागि दुखद्। यो वर्षलाई आर्थिक पाटोसँग जोडेर हेर्दा कतिपयले सम्पत्ति गुमाए भने कतिपयले अथाह जोडे। अरुका लागि जे–जस्तो भएपछि यो वर्ष विश्वका धनाढ्यहरुका लागि भने सुखद् नै रह्यो। यो वर्ष विश्वका शीर्ष १० धनाढ्यहरुको सम्पत्ति ४०२.१७ बिलियन डलरले बढ्यो। 

सन् २०२१ मा विश्वका शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल सबैको सम्पत्ति १०० बिलियन डलर माथि रहेको छ। २०२१ मा विश्वका शीर्ष १० धनाढ्यहरु यस प्रकार छन्–

१. एलन मस्क 

टेस्लाका सहसंस्थापक एलन मस्कले गत मार्चमा कम्पनीको सीईओबाट हट्दै ‘टेक्नोकिङ अफ टेस्ला’को उपाधि धारण गरेका छन्। टेस्लाको विस्तार तथा वृद्धिसँगै यो वर्ष मस्कको सम्पत्तिमा व्यापक उछाल आएको छ।  टेस्लाको सेयरमूल्य ६० प्रतिशतले वृद्धि भएको छ। गत अक्टोबर महिनामा कम्पनीको बजार पुँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको थियो। मस्कको सम्पत्ति २७७ बिलियन डलर पुगेको छ। यो वर्षमात्रै मस्को सम्पत्ति १२१ बिलियन डलर वृद्धि भएको छ। सन् २०१२ मा लिएको स्टक अप्सन प्याकेजअन्तर्गतको कर तिर्नका लागि यतिबेला मस्कले टेस्लाको लाखौँ सेयर बिक्री गरिरहेका छन्। 

२. जेफ बेजोस

यसअघिका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बेजोसले यो वर्ष मस्कको जत्तिको सम्पत्ति जोड्न सकेनन्। यो वर्षको उनको सम्पत्तिमा ५ बिलियनको मात्रै बढोत्तरी आएको छ। ५७ वर्षीय बेजोस गत जुलाई महिनामा अमेजनको सीईओबाट हटेका थिए। उनले अबको आफ्नो समय ‘बेजोस अर्थ फन्ड’ मा खर्चिने बताएका छन्। १९५ बिलियन डलरका मालिक बेजोस विश्वको दोस्रो धनाढ्य हुन्। 

३. बनार्ड आर्नल्ड

लक्जरी वस्तुहरु उत्पादन गर्ने कम्पनी एलभिएमएचका सीईओ बनार्ड आर्नल्डको सम्पत्ति यो वर्ष ६५ बिलियन डलरले वृद्धि भएको छ। यससँगै ७२ वर्षीय आर्नल्ड युरोपका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। अर्नाल्डको कुल सम्पत्तिको मूल्य १७६ बिलियन डलर रहेको छ। 

४.बिल गेट्स

बितेका केही दशकहरुमा करोडौँ डलर च्यारिटीस्वरुप बाडे पनि बिल गेट्सको सम्पत्ति भने निरन्तर वृद्धि भइरहेको छ। माइक्रोसफ्टको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति श्रीवृद्धि भइरहेको छ। माइक्रोसफ्टका संस्थापक गेट्सको कम्पनीमा अझै पनि १ प्रतिशत स्वामित्व छ। यसै वर्ष गेट्सले आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध तोड्दै श्रीमती मेलिन्डासँग पारपाचुके गरेका थिए।  गेट्स १३९ बिलियन डलरका मालिक हुन्। यो वर्ष उनको सम्पत्ति ७ बिलियन डलर वृद्धि भएको छ। 

५. ल्यारी पेज

ल्यारी पेज गुगलका सहसंस्थापक हुन्। यो वर्ष उनको सम्पत्ति ४७ बिलियन डलरले वृद्धि भएको छ। यससँगै उनको कुल सम्पत्ति १३० बिलियन डलर पुगेको छ। अल्फाबेटले गरेको सशक्त प्रदर्शनका कारण गत नोभेम्बरमा कम्पनीको मार्केट क्याप २ बिलियन डलर पार भएको छ। 

६. मार्क जुकरबर्ग

मार्क जुकरबर्ग विश्वका शीर्ष १० धनाढ्यमध्ये ४० वर्षमुनिका एक्ला सदस्य हुन्। ३७ वर्षे जुकरबर्गको सम्पत्ति यो वर्ष २४ बिलियन डलरले वृद्धि भएको छ। मेटा (फेसबुक र इन्स्ट्राग्रामको माउ कम्पनी)मा जुकरबर्गको १३ प्रतिशत स्वामित्व छ। यो वर्ष उनको सम्पत्ति २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

७. सरगे ब्रिन

गुगलका सहसंस्थापक सरगे ब्रिनको सम्पत्ति यो वर्ष ४५ बिलियन डलरले वृद्धि भएको छ। यससँगै उनको सम्पत्ति पहिलोपटक १०० बिलियन डलरभन्दा बढी भएको छ। हाल उनको सम्पत्तिको मूल्य १२५ बिलियन डलर रहेको छ। ४८ वर्षिय ब्रिनसँग अल्फाबेटको ३८ मिलियन कित्ता सेयर छ। 

८. स्टिभ बालमेर

माइक्रोसफ्टका पूर्वसीईओ तथा एनबीएको लस एन्जल्स क्लिपर्सका मालिक स्टिभ बालमेरको सम्पत्ति यो वर्ष ४१ बिलियन डलरले वृद्धि भएको छ। माइक्रोसफ्टको सेयरमूल्यमा आएको ५० प्रतिशतको उछालले उनको सम्पत्ति बढाउनुमा सहयोग गरेको छ। बालमेरको कुल सम्पत्ति १२२ बिलियन डलर रहेको छ। 

९. ल्यारी इलिसन

ल्यारी इलिसन ओर्याकल कम्पनीका संस्थापक तथा चेयरम्यान हुन्। यो वर्ष ओर्याकल २० वर्ष यताकै दोस्रो ठूलो मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले यो उपलब्धि गत महिना हासिल गरेको थियो। यो उपलब्धिले सबैभन्दा धेरै फाइदा ल्यारी इलिसनलाई भयो। २९ बिलियन डलर सम्पत्ति जोड्दै ७७ वर्षीय इलिसन १०० बिलियन क्लबमा प्रवेश गरेका छन्। हाल उनको कुल सम्पत्तिको मूल्य १०९ बिलियन डलर रहेको छ। 

१०. बारेन बफेट

बर्कसायर हाथवे कम्पनीका सीईओ बारेन बफेटलाई अमेरिकी तथा विश्व सेयर बजारको बादशाहका रुपमा लिइन्छ। उनको लगानी रणनीतिहरु विश्वभरका लगानीकर्तामाझ चर्चाको विषय बन्ने गर्छ। यो वर्ष बफेटको सम्पत्ति २१ बिलियन डलरले वृद्धि भएको छ। यससँगै ९१ वर्षिय बफेटको कुल सम्पत्ति १०९ बिलियन डलर पुगेको छ। – एजेन्सी