काठमाण्डौ । अमेरिकी चिप निर्माता एनभिडिया कर्पले चमत्कार गरेको छ। कम्पनीको मार्केट क्यापमा एक घन्टामै २२० अर्ब डलरको उछाल आएको छ। यससँगै थुप्रै ठूला दिग्गज कम्पनीलाई पछि पार्दै एनभिडिया मार्केट क्यापको हिसाबले विश्वको छैटौँ ठूलो मूल्यवान कम्पनी बनेको छ। 

आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले स्ट्राङ रेभिन्यू ग्रोथको अनुमान गरेको छ। यससँगै कम्पनीले एआई चिपको बढ्दो मागलाई ध्यानमा राखेर उत्पादन बढाउने घोषणा गरेको छ। 

कम्पनीको यो घोषणासँगै यसको सेयरमूल्य २८ प्रतिशतले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको छ। योसँगै कम्पनीको मार्केट क्याप ९६० अर्ब डलर पुगेको छ। यसरी एभिडिया विश्वको छैटौँ र अमेरिकाको पाँचौँ सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ। 

एनभिडियाले मार्केट क्यापको हिसाबले अन्य चिप निर्माताहरुलाई पछाडि पारेको छ। एएमडीको कुल मार्केट क्याप १७५ अर्ब डलर, इन्टिेलको १२० अर्ब डलर र माइक्रोन ७३ अर्ब डलर रहेको छ। यसको अर्थ एनभिडियाले १ घन्टामै इन्टेल र माइक्रोनको संयुक्त बजारको संयुक्त मूल्यभन्दा बढी मार्केट क्याप थपेको छ। 

एनभिडियाको आम्दानी अघिल्लो त्रैमासिकको तुलनामा १९ प्रतिशतले बढेको छ। कम्पनीको उत्कृष्ट नतिजाका कारण एआईसँग सम्बन्धित अन्य कम्पनीको सेयरमा पनि उल्लेख्य वृद्धि भएको छ।

आईफोन निर्माता एप्पल मार्केट क्यापको हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो। यसको मार्केट क्याप २.७०२ ट्रिलियन डलर रहेको छ। माइक्रोसफ्ट २.३३३ ट्रिलियन डलरको मार्केट क्यापका साथ दोस्रो स्थानमा छ। 

साउदी आरामको २.०६५ ट्रिलियन डलरका साथ तेस्रो, गुगलको मूल कम्पनी अल्फाबेट १.५३९ ट्रिलियन डलरका साथ चौथो र अमेजन १.१९७ ट्रिलियन डलरका साथ पाँचौँ स्थानमा छ। 

यसैगरी वारेन बफेटको कम्पनी ह्याथवे बर्कशायर ७००.६० अर्ब डलरका साथ सातौँ र मेटा प्लेटफर्म (फेसबुक) ६३८.६५ अर्ब डलरसहित आठौँ स्थानमा रहेका छन्। –एजेन्सी