काठमाण्डौ । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ करोड ४४ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आइपीओ निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा  नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ लाख ४४ हजार कित्ता आइपीओ निश्कासन गर्नेछ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको काठमाण्डौको हात्तीसारस्थित रजिष्टर्ड कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुखकार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

आइपीओ निश्कासन गर्न लागेको नेपाल एग्रो माइक्रोफाइनान्स २०७३ देखि संचालनमा आई १० जिल्लामा काम गरिरहेको बित्तीय कम्पनी हो । यो कम्पनीको हाल कास्की, लमजुंग, तनहुँ, प्यूठान, पाल्पा, गुल्मी, पर्वत, बाग्लुंग, रोल्पा, सल्यान लगायतका १० जिल्लामा सेवा बिस्तार गरेको छ ।

कम्पनीले छोटो समयमै २६ शाखा बिस्तार गरिसकेको छ । 

आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी ४ करोड ८० लाखको उचाईमा पुग्नेछ । आइपीओपछि कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत र संस्थापकको ७० प्रतिशत कायम हुनेछ ।