काठमाण्डौ । पछिल्लो समय नेपालमा एटीएम ह्याक गरी तपाईंको बैंक अकाउण्टको पैसा चोर्ने प्रवृति मौलाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केही समयअघि केही विदेशी नागरिकलाई एटीएम फ्रडको केशमा पक्राउ गरेको थियो र उसले नेपालका लाखौं एटीएम ह्याकरको निशानामा रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको थियो । तपाईंलाई थाहा नहुनसक्छ, तपाईंको सानो असावधानी पनि निकै महंगो भइदिन सक्छ, कारण ह्याकरहरुले मात्र ६ सेकेण्डमा तपाईंको एटीएम ह्याक गरिदिन सक्छन् । 

यस्तो डरलाग्दो रिपोर्ट आईइइइ सेक्युुरिटी एण्ड प्राइभेसी नामको जर्नलमा छापिएको हो । त्यहाँ छापिएको रिपोर्ट अनुसार तपाईको एटीएम कार्ड र क्रेडिट कार्ड मात्र ६ सेकेण्डको अवधिमा ह्याक हुनसक्छ । ह्याकरहरुलाई यो कामका लागि मात्र एक ल्यापटप र इन्टरनेट कनेक्सन भए पुुग्छ, यसबाहेक अन्य केही चिज पनि चाहिन्न । पहिला भनिन्थ्यो कि सीसीभी नम्बर तथा एक्सपाइरी डेट बिना यस्ता कार्ड ह्याकिङ संभव छैन । तर ह्याकरहरुले अब यी चिजहरुबिना पनि तपाईंको कार्ड आरामले ह्याक गरिदिनसक्ने खोजको क्रममा पत्ता लागेको हो । 

रिसर्चका अनुसार ह्याकर पहिलाको तुलनामा निकै चलाख भइसकेका छन् । यस्तो साइबर हमलालाई न बैंक न त कुनै नेटवर्कले नै रोक्ने अवस्था छ । ह्याकरहरु पेमेन्ट कार्डको डाटा पाउनका लागि ‘मल्टिपल इनभ्यालिड अट्याक’को काम गर्न निकै माहिर भइसकेका छन् । हालको अनलाइन पेमेन्ट सिस्टम यस्ता अलग अलग वेबसाइटबा आउने मल्टिपल पेमेन्ट रिक्वेस्टलाई रोक्न सक्षम छैन । त्यसकारण अहिलेको अवस्थामा ह्याकरलाई रोक्ने काम सहज छैन । 

यसरी हुन्छ ह्याकिङ
अहिले नेपालमा अनलाइन सपिङ फस्टाउँदै गएको छ । अनलाइन खरिदारीका लागि विभिन्न वेबसाइटहरुले आ–आफ्नै ढंगको कार्ड खरिदारीको अप्सन दिने गर्छन । यसको अर्थ हो कि यस्तो अवस्थामा सूचना संकलन गर्नु र त्यसलाई सही क्रममा लगाउनु निकै कठीन हुन्छ । रिपोर्टअनुसार यस्तो अवस्थामा कार्ड ह्याक हुने संभावना समेत उति नै बढी हुन्छ । 

रिसर्च अनुसार यदि ह्याकरसँग तपाईको कार्डको सुरुवातको ६ डिजिट(नम्बर)को बिषयमा जानकारी छैन भने पनि उसले आरामसाथ ह्याक गरिदिनसक्छ । अहिलेसम्म मानिन्थ्यो कि, यदि यी ६ नम्बर छैन भने कुुनै पनि ह्याकरले तपाईंको कार्ड ह्याक गर्नैसक्दैन । तर, यो अब गलत साबित भएको छ । राम्रो ढंगले अनलाइन खरिदारीका लागि कार्ड नम्बर, एक्सपाइरी डेट र सेक्युरिटी कोड आवश्यक पर्छ । तर अहिलेको समयमा ह्याकरहरुले यी आवश्यक चिज निकै सहज ढंगले प्राप्त गर्छन । 

रिसर्चका अनुसार यिनै नयाँ तरिका अपनाएर ह्याकर्सहरुले कार्ड तथा अकाउण्ट ह्याक गरिरहेका छन् । केही महिनाअघि जापानमा यही विधि अपनाएर एकैदिन देशका विभिन्न ठाउँका एटीएमबाट करोडौं रुपैयाँ ह्याकरले उडाएका थिए । केही समयअघि भारतमा समेत यस्तै विधि अपनाएर ह्याकरहरुले एटीएम र क्रेडिट कार्डमाथि हमला गरेका थिए । ह्याकरहरुको यही चलाख्याई बुुझेर त्यहाँको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डियाले आफ्ना ३० लाख एटीएम बन्द गर्नुपरेको थियो ।