काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले लगानीकर्ताका लागि नयाँ अफर सार्वजनिक गरेको छ । यो मर्चेन्ट बैंकले डिम्याट खाता निःशुल्क खोलिदिने अफर सार्वजनिक गरेको हो । 

एनआइबिएल क्यापिटल मार्केट्सका अनुसार जेठ १६ गतेदेखि सुरु भएको यो स्किम अन्तर्गत १० हजार जनालाई बिना कुनै शुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिनेछ । 

इच्छुक लगानीकर्ताले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल  क्यापिटलको मुख्य कार्यालय तथा इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालयमा गएर यो सुविधा लिनसक्ने कम्पनीले जनाएको छ ।

डिम्याट खाता खोलेपछि लगानीकर्ताले आइपीओ तथा एफपीओ, म्युुचुुअल फण्डमा आवेदन दिन, सेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्न, आफ्नै अकाउण्टमा सोझै हकप्रद र बोनस सेयर प्राप्त गर्न सक्नेछन् । डिम्याट खाता हुँदा धितोपत्र बन्धक रोक्का र फुक्का गर्ने कार्य समेत सहजताका साथ हुने बताइएको छ । स्मरणरहोस्, पहिलो र दोश्रो बजारमै धितोपत्र बोर्डले डिम्याट खाता अनिवार्य गरिसकेको छ ।