काठमाण्डौ । हाम्रो विकास बैंकलाई हालै अक्वायर गरी देशकै सबैभन्दा बढी चुक्तापुँजी भएको विकास बैंक बन्न सफल ज्योति विकास बैंकका लगानीकर्ताले सेयर रजिष्टारको गल्तीका कारण अनाहकमा दुःख पाएका छन् । 

सोमबारदेखि नै विभिन्न लगानीकर्ताहरुले सिडिएससीको ‘मेरो सेयर’बाट ज्योति विकास बैंकको सेयर हराएको गुनासो गरिरहेका छन् । 

ज्योतिका सबै लगानीकर्ताले भोगिरहेको यो समस्याको जड सेयर रजिष्टार एनआइबिएल एस क्यापिटलको कमजोरी रहेको देखिएको हो । 

ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई अक्वायर(प्राप्ति) गरी चैत १५ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो । 

ज्योतिमा गाभिएपछि हाम्रो विकास बैंकको सेयर ज्योतिमा बिलय गराई सिस्टम सेटअप गर्नुपर्नेमा सेयर रजिष्टारले ठीक उल्टो ज्योतिको सेयर चाहि हाम्रोमा लगेर सेटअप गर्दा ज्योतिको सेयर ‘मेरो सेयर’को स्टाटसबाट हराएको देखिएको छ । 

‘हाम्रो विकास बैंकको सेयर ज्योतिमा लग्नुपर्ने थियो, अर्थात हाम्रो विकास बैंकको सेयर  फ्रिज गर्नुपर्नेमा ज्योतिको सेयर चाहि फ्रिज गर्दा यस्तो समस्या देखिएको हो ।’ सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालासँग भने–‘यो समस्याको विषयमा जानकारी आइसकेको छ, हामी सिस्टम मिलाइरहेको छौ । २–३ घण्टाभित्र समस्या समाधान भइसक्छ ।’ 

सिडिएससीले मेरो सेयरमा ज्योतिको स्टाटस मात्र फ्रिज भएकोले सेयर नै हरायो कि भन्ने भ्रम नराख्न र नअत्तालिन लगानीकर्ताहरुमा आह्वान गरेको छ।