काठमाण्डौ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’मा एनआइसी एशिया बैंक एक्सक्लूसिभ बैंकिङ पाटनरको रुपमा नियुक्त भएको छ । 

यस सम्बन्धमा यस बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरे । 

नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानीकोषले ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको छ  । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्सक्लूसिभ बैंकिङ पाटनर हुन पाएकोमा बैंकले खुशी प्रकट गरेको छ। एक विज्ञप्ति जारी गरी बैंकले ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गरेको छ । 

कोषको यस पेन्सन योजनाअन्तर्गत आयआर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुनसक्नुहुनेछ । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याइएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुनसक्नेछन् । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्नसक्ने प्रावधान रहेको छ ।

सर्वाधिक ग्राहक संख्या, देशैभर रहेका शाखाहरू तथा बिस्तारित काउण्टरहरू एवम् डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्ने बताइएको छ । यस बैकमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ । 

साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी पनि गरिरहेको बताएको छ ।