काठमाण्डौ । एनआइसी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पीओएस मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा बाई(Insta-Buy) योजना’ सञ्चालनमा ल्याएको छ । 

बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद सामाग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवम् आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो । 

यस योजनामार्फत ग्राहकहरूले इच्छाएको सामाग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामाग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

ग्राहकले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफूलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीका लागि आवेदन दिन सक्ने बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकले केही दिनभित्रै वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था समेत गर्न लागेको छ ।

कोरोना भाइरसको जोखिम कायम रहेकै बेला नगद कारोबारको सट्टा डिजिटल कारोबार गर्नु बाञ्छनीय रहेको र यस विषम परिस्थितिमा आवश्यक सेवा तथा सामग्रीहरू खरिद गर्न सहज गराउनुपर्ने आफ्नो उत्तरदायित्व महसुश गर्दै बैंकले आफ्ना क्रेडिटकार्ड प्रयोगकर्ताहरूलाई सहज एवं सुरक्षित सेवा प्रदान गर्ने विश्वासका साथ यो योजना संचालनमा ल्याइएको समेत प्रष्ट पारेको छ ।  यो योजनाबाट एकातिर क्रेडिट कार्ड प्रयोगकर्ताहरूले चाहेको सामग्री तथा सेवा तत्काल प्राप्त गर्ने र अर्कोतिर मर्चेन्टहरूले बिक्री भएको सामग्री तथा सेवाको तत्काल भुक्तानी प्राप्त गरी भरपुर फाइदा उठाउन सहज पुग्ने बैंकले विश्वास लिएको छ । 

यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्नेछन् ।