काठमाण्डौ । ब्याजदर वृद्धिको बिषयमा बैंकहरुबीच द्वन्द्व सुरु हुने देखिएको छ । नेपाल बैंकर्स संघले आफूहरुको सहमतिविपरीत ब्याजदर बढाएर प्रणालीगत समस्या सिर्जना गरेको दाबी गर्दै एनआइसी एशिया बैंकलाई अन्तरबैंक कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एनआइसी एशिया बैंकले संघको सहमतिविपरीत ब्याजदर बढाएको भन्दै शुक्रबार बसेको आकस्मिक बैठकले अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरिएको बताए । ‘कुनै पनि खालको अन्तरबैंक कारोबारमा उसलाई सहभागी नगराउने हामीले निर्णय गरेका छौ ।’ ढुंगानाले बिजशालासँग भने–‘यो बिषयमा हामीले राष्टबैंकलाई समेत जानकारी गराइसकेका छौ ।’ 

उनले बजारमा आउनसक्ने सिस्टेमिक रिस्क(प्रणालीगत जोखिम)लाई कम गर्न यस्तो निर्णय गरिएको दाबी समेत गरेका छन् । 

एनआइसी एशिया बैंकले मुद्धती निक्षेपमा १२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने नयाँ स्किम बिहीबार सार्वजनिक गरेको थियो । बचतकर्ताहरु एनआइसी एशियातर्फ पैसा राख्न दौडिएपछि बैंकर्स संघले अस्वस्थ प्रतिस्पर्धा बढ्ने भन्दै यस्तो निर्णय गरिएको दाबी गरेको छ ।