काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया ग्रोथ फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११.९८ रुपैयाँ कायम भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो गत महिना असारको तुलनामा २३ पैसाले बढी हो। गत महिना यो फन्डको न्याभ ११.७५ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको यो ७ वर्षे फन्डको कुल नाफा ६ करोड ४० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना १४ करोड ५१ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म ७४ करोड ७६ लाख रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा ८.३ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी ६२ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

साउन मसान्तसम्म यो फन्डले सूचीकृत धितोपत्रअन्तर्गत सेयरमा ५९ करोड ७१ लाख रुपैयाँ र ऋणपत्रमा २ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ। असार मसान्तसम्म भने यस्तो लगानी सेयरमा ५५ करोड ८० लाख रुपैयाँ र ऋणपत्रमा २ करोड २५ लाख रुपैयाँ रहेको थियो।

यसैगरी साउनसम्म यो फन्डले सूचीकृत नभएका धितोपत्रहरुअन्तर्गत सेयरमा १ करोड ६५ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १० करोड ८ लाख रुपैयाँ लगानी गरेको छ। जुन असार मसान्तसम्म क्रमशः २ करोड ३१ लाख रुपैयाँ र ८ करोड ३५ लाख रुपैयाँ थियो।

यो फन्डले हालसम्म सूचीकृत २३ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, १० वटा जलविद्युत् कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ९ वटा निर्जीवन बीमा कम्पनी, ११ वटा लघुवित्त कम्पनी, ३ वटा म्युचुअल फन्डमा र २ वटा अन्य समूहका कम्पनीमा कुल ५९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ।