काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा आएसँगै सेयर बजारमा उछालको यात्रा सुरु भएको छ। 

१८०० हाराहारीमा रहेको बजार परिसूचक बढेर २१०० माथि पुगिसकेको छ । यो बीचमा लगानीकर्ताको सम्पत्ति पनि करिब ४ खर्बले बढिसकेको छ । 

लामो समयसम्म साइडेवजमा गएको बजारका कारण निकै ठूलो घाटामा रहेका लगानीकर्ताहरु बिस्तारै उक्सिन थालेका छन् भने बजार घटेको बेला आक्रामक खरीद गरेकाहरुले पैसा छापिरहेका छन् । 

पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताहरु सेक्टर परिवर्तन गर्दै लगानी रणनीति बनाइरहेको देखिन्छ । अक्सर बजारमा बुलिस यात्रा सुरु भएपछि सेक्टर परिवर्तन गर्दै कारोबार गर्ने ट्रेण्ड चल्ने गर्छ । 

यहीबेला जीवन बीमा र निर्जीवन बीमा समूहका कम्पनीहरुमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । मौद्रिक नीतिपछि बजार ८ दिन खुलेको छ । यो ८ दिनमा जीवन बीमा समूह ३ दिन घटेको छ भने ५ दिन बढेको छ । 

यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८ दिनमा १ दिन मात्रै घटेको छ । बाँकी ७ दिन बढेको छ । डिसेम्बर १३ का दिन १.३१ प्रतिशतले यो समूहको सूचक घटेकोमा बढ्दा भने डिसेम्बर ७, १०, ११, १२, १४, १७, १८ र १९ मा क्रमशः २.११, ५.२२, १.३७, २.३८, ०.५१, १.०३, ०.१२ र २.०६ प्रतिशतले बढेको छ । यसले समेत लगानीकर्ता बिस्तारै नन्लाइफतर्फ केन्द्रीत भएका अनुमान गर्न सकिन्छ ।  

लगानीकर्ताहरुको ध्यान लाइफ र नन्लाइफमा केन्द्रीत हुन थालेको देखेर कतिपय कम्पनीहरु दोश्रो त्रैमासको वित्तीय विवरण बलियो बनाउने रणनीतिमा जुटेका छन् । 

माघको सुरुवातबाट दोश्रो त्रैमासको वित्तीय विवरण सूचीकृत कम्पनीहरुले प्रकाशन गर्नुपर्ने हुन्छ । बढ्दो बजारको मौका छोपेर कतिपय कम्पनीहरुले आफ्नो वित्तीय अवस्था बलियो बनाउने रणनीति बनाएका देखिएको छ । 

यो क्रममा केही नन्लाइफ कम्पनीहरुले नेपाल पुनर्बिमा कम्पनी(एनआरआईसी)को संस्थापक सेयर कन्भरजन नहुँदै बिक्री गरिसकेका छन् भने केही कम्पनीहरुले बिक्री गर्न खोजिरहेका सूचना प्राप्त भएको छ । 

यो दौडमा सबैभन्दा अगाडि आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स रहेको छ । सो कम्पनीका एक उच्च अधिकारीले आफूहरुसँग करिब पुनर्बिमा कम्पनीको ३९ लाख कित्ता संस्थापक सेयर रहेको उल्लेख गर्दै त्यसलाई सल्टाएर राम्रो आम्दानीसहित दोश्रो त्रैमासको वित्तीय विवरण सुधार्न लागिपरेको पुष्टि गरे । 

'हामीले पुनर्बिमा कम्पनीको संस्थापक सेयरको सबै कित्ता बिक्री गर्ने वा आधा अहिले बेचेर आधा पछि बेच्ने भन्ने विषयमा छलफल अगाडि बढाएका छौं ।' ती अधिकारीले बिजशालासँग भने-'सबै बिक्री गर्यौं भने करिब ७० करोड आम्दानी हुने अनुमान गरेका छौं ।' 

यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ११ लाख मात्रै खूद नाफा आर्जन गरेको छ । ३ अर्ब २ करोड चुक्तापूँजी रहेको यो कम्पनीले यदि पुनर्बिमा कम्पनीको सबै संस्थापक सेयर बिक्री गरेमा ७० करोड सोझै आम्दानी गर्ने देखिन्छ । यसले चालु आर्थिक वर्षमा कम्पनीको वित्तीय अवस्थामा निकै ठूलो सुधार ल्याउने अनुमान गर्न सकिन्छ । 

आफूसँग भएको पुनर्बिमा कम्पनीको मात्र नभई अन्य कम्पनीको सेयर समेत बजार बढेको बेला बिक्री गर्ने आइजीआईको रणनीति रहेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ६४ करोड बढी अल्पकालीन लगानी उपकरणहरुमा लगानी गरेको छ । यसमध्ये पनि ठूलो लगानी विभिन्न कम्पनीहरुको सेयरमा छ । 

पुनर्बिमा लगायतका कम्पनीहरुको सेयर सल्टाएर आम्दानी गर्ने र वित्तीय अवस्था सुधार्ने रणनीति यो कम्पनीको मात्रै छैन।

यसअघि नेपाल इन्स्योरेन्सले करिब २० लाख कित्ता नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर २७२ देखि ३०० रुपैयाँ हाराहारीको मूल्यमा बिक्री गरेको थियो । सो कम्पनीको संस्थापक सेयर ठूलो परिमाणमा विशाल ग्रुपले समेत बेच्न भ्याइसकेको छ । 

यस्तै, प्रभू इन्स्योरेन्सले पनि २० लाख कित्ता हाराहारीमै कन्भरजन नभइसकेको पुनर्बीमा कम्पनीको संस्थापक सेयर सल्टाइसकेको छ । 

पछिल्लो समय कन्भरजन नभइसकेको पुनर्बीमा कम्पनीको संस्थापक सेयर एशियन लाइफ इन्स्योरेन्सले धमाधम उठाइरहेको देखिएको छ । 

आइजीआईबाहेक यूनाइटेड अजोड इन्स्योरेन्ससँग पनि साढे ३९ लाख हाराहारी कित्ता नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर छ । उसले पनि यो सेयर सल्टाएर आम्दानी बढाउनसक्ने सम्भावना रहेको स्रोतहरुको दाबी छ । 

'कन्भरजन नभइसकेको संस्थापक सेयर ३०० सय रुपैयाँसम्म प्रतिकित्ता मूल्य हालेर एशियन लाइफ लगायतले धमाधम उठाइरहेका छन् ।' स्रोतले भन्यो-'यो अर्थपूर्ण छ भने यो मूभले आइजीआई, यूनाइटेड अजोड, प्रभू लगायतका निर्जीवन बीमा कम्पनीहरुको आम्दानी ह्वात्तै बढ्न गई वित्तीय विवरणमा सुधार हुनसक्ने देखिन्छ ।' 

यही सूचना बजारमा चुहिएका कारण समेत पछिल्लो समय नन्लाइफहरुमा लगानीकर्ताहरुको चहलपहल बढ्न थालेको स्रोतहरु दाबी गर्छन् । 

पुनर्बीमा कम्पनीका संस्थापक सेयर को को हुन् ? हेरौं यो सूची: