काठमाण्डौ । कुनै बेला निस्क्रिय कर्जा(एनपिएल)को थुप्रो लागेर धरमरको अवस्थामा पुुगेको प्रभूू बैंकले त्यस्तो कर्जाको अनुपातमा व्यापक सुधार गर्दै खूद नाफामा समेत छलाङ मारेको छ । 

कैयन खराब संस्थाहरु गाभिएर बनेको प्रभूू बैंकले मर्जर र एक्वीजिसनपछि पनि बैंकले राम्रो प्रगति गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । पूँजीवृद्धिका कारण बैंक तथा बित्तीय संस्था धराप हुन्छन् भन्ने कतिपयको टिप्पणीलाई प्रभू बैंकको प्रगतिले गतिलो झापड दिएको छ । 

प्रभूू बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब ७५ करोड खूद नाफा आर्जन गर्ने सफलता प्राप्त गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब १४ करोडमा सीमित थियो । 

व्यवसाय बिस्तारमा आक्रामक रहेका कारण प्रभूू बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्षसम्म १ अर्ब ९६ करोड रहेको यस्तो आम्दानी यो वर्ष वृद्धि भई २ अर्ब ५२  करोडको उचाईमा पुुगेको छ । 

संचालन मुनाफामा समेत यो बैंकले फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ८७ करोड ६२ लाखमा सीमित संचालन मुनाफा यो वर्ष १ अर्ब ३ करोड पुुगेको छ । 

यस्तै, बैंकले जगेडा कोषको आकारलाई साढे ५ गुणा भन्दा बढीले बढाएको छ । अघिल्लो वर्ष कोषमा ३६ करोड ६३ लाख रुपैयाँ रहेकोमा यो वर्षसम्म २ अर्ब करोड जम्मा भएको छ । 

बैंकले यो अवधिमा ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरी ६१ अर्ब ९७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६० अर्ब ९४ करोड निक्षेप संकलन गरी ४८ अर्ब २१ करोड मात्र कर्जा परिचालन गरेको थियो । 

प्रभूू बैंकले अघिल्लो वर्ष ८.३८ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा दरमा व्यापक सुधार गर्दै यो वर्ष ४.२९ प्रतिशतमा झारेको छ । राष्ट्रबैंकले यस्तो कर्जाको सीमा ५ प्रतिशतभित्र हुनुपर्ने व्यवस्था गरेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९.७८ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३४.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.६३ गुणा कायम भएको छ । निकै धेरै संस्थाको मर्जरपछि पनि बैंकले प्रतिसेयर आम्दानी बढाएको हो । अघिल्लो वर्ष यो बैंकको प्रति सेयर आम्दानी १९.५१ रुपैयाँ मात्र थियो । 

बैंकले संचालन जोखिम, बढ्दो संचालन खर्च लगायतलाई आफ्नो आन्तरिक समस्या भनेको छ ।