काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिसम्म संस्थाले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो। 

संस्थाको वितरणयोग्य मुनाफा पनि १९.११ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २१ करोड ९० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेकोमा समीक्षा वर्षमा घटेर १७ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा पनि २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३७ करोड १८ लाख रुपैयाँ भएको थियो।

गत वर्ष संस्थाले ४३ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ४२ करोड ५४ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी पनि १.८७ प्रतिशतले बढेको छ। 

समीक्षा वर्षसम्म संस्थाले ७ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ९ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १० अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिसम्मको संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.६६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल शून्य प्रतिशत थियो। संस्थाको इम्पेयरमेन्ट चार्ज ११ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यस्तो चार्ज ४ करोड ३२ लाख रुपैयाँले ऋणात्मक थियो। 

संस्थाको रिजर्भको आकार १९.७८ प्रतिशतले बढेर २५ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ करोड १९ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.६५ रुपैयाँबाट घटेर १७.१६ रुपैयाँ कायम भएको छ। पीई रेसियो ४१.९१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३७.८७ रुपैयाँ रहेको छ।