काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)मा आगामी नेतृत्व समेत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नै हाँक्ने भएका छन्। 

एनबिएको वार्षिक साधारणसभा मंसिर १९ गतेका लागि आह्वान गरिएको छ। साधारणसभासँगै नयाँ नेतृत्व छनौटको बहस समेत सुरु भएको थियो । 

एनबिएमा केही वर्षअघिदेखि भएको सहमति अनुसार अध्यक्षले पद छाड्दा उपाध्यक्षलाई अध्यक्ष दिनुपर्ने हुन्छ । हालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेतृत्व छाड्दा उपाध्यक्ष तथा एभरेष्ट बैंकका सीइओ अनुकुल भाटनगर अध्यक्ष बन्ने चर्चा चलेको थियो । तर, भाटनगरलाई नेतृत्व दिने विषयमा अन्य बैंकका सीइओहरुले समेत असन्तुष्टि जनाएपछि एनबिएको अध्यक्षमा ढुंगानाले नै निरन्तरता पाउने भएका हुन् ।

उच्च स्रोतहरुका अनुसार नेपाली बैंकका सीइओहरुबीच ढुंगानालाई नै अध्यक्षको रुपमा अझै केही महिना निरन्तरता दिने सहमति बनेको छ । ढुंगाना समेत अन्य सीइओहरुको अनुरोधलाई स्वीकार गर्दै अझै केही समय नेतृत्वमा रहन तयार देखिएका छन् । 

एनबिएको आगामी नेतृत्व भारतको पञ्जाब नेशनल बैंकको समेत लगानी रहेको एभरेष्ट बैंकका सीइओ तथा हालका उपाध्यक्ष भाटनगरलाई दिने या नदिने विषयमा आन्तरिक रुपमा ठूलै बहस चलेको थियो । भाटनगर भारतीय नागरिक भएको र उनले एनबिएको नेतृत्व गरेर सरकार तथा अन्य उच्च तहसम्म सम्पर्क स्थापित गर्न गाह्रो पर्ने, मिडिया तथा अन्य सरोकारवालासँग सहज उपलब्ध हुन समेत नसक्ने लगायतको विश्लेषण गर्दै नेपाली बैंकरहरुबाटै अध्यक्ष बन्नुपर्ने तर्क बलियो बनेको थियो । 

यो क्रममा आगामी अध्यक्षको रुपमा जनता बैंकका सीइओ पर्शुराम खत्रीलाई अगाडि सारिएको थियो । तर, खत्रीले अध्यक्षमा आउने इच्छा व्यक्त गरेनन् । त्यसपछि पूर्व अध्यक्षहरु अशोक राणा, अनिलकेशरी शाह लगायतलाई समेत आगामी अध्यक्ष बनाउन सकिने मत आएको थियो । तर, उनीहरु दुवैले अध्यक्षमा पुनः जान खासै चासो नदेखाएपछि एनबिएको गरिमा जोगाउन र यो संस्थालाई अहिलेझै बलियो राखिराख्न ढुंगानाले नै निरन्तरता दिनुपर्ने अधिकांशको सुझाव थियो । 

ढुंगानाले आफ्नो कार्यकालमा प्रतिकूल परिस्थितिका बाबजुद सरकार र नेपाल राष्ट्रबैंकसँग मिलेर ब्याजदरमा भद्र सहमति कायम गराएका थिए । उनको यो प्रयासले ब्याजदरमा हुने मनपरीतन्त्र रोकिएको र यसले समग्र बैंकिङ उद्योगलाई स्वस्थ बन्न प्रेरित गरिएको विश्लेषण गरिएको छ । 

ढुंगानाले अध्यक्षको रुपमा एनबिएको नेतृत्व हाँक्दा उनको पहुँच, सरकार तथा मातहतका एजेन्सीहरुसँग आफ्ना मुद्धाहरुको विषयमा गर्ने गरेको डिल तथा माथिसम्मकै पहुँचलाई समेत बैंकरहरुले प्रशंसा गर्ने गरेका छन् । उनले असहज परिस्थितिमा पनि नेतृत्व कुशलतापूर्वक हाँकेकोले केही समयका लागि उनैलाई निरन्तरता दिने विषयमा सीइओहरु सहमत भएको स्रोत बताउँछ । 

ढुंगाना मात्र होइन, उनी नेतृत्वको अहिलेको कार्यसमितिले नै अझै केही महिनासम्म निरन्तरता पाउने स्रोतले उल्लेख गरेको छ ।