काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकिङ उद्योगको तरलता तत्काल सहज नहुने र ब्याजदर समेत तत्कालै बाञ्छित सीमाभित्र नआउने दाबी गरेका छन् । उनले साउन र भदौमा अवस्था थप जटिल बन्नसक्ने प्रक्षेपण पनि गरेका छन्। 

वर्तमान वित्तीय तथा आर्थिक अवस्थाको विषयमा आफ्नो विश्लेषण बिजशालालाई सुनाउँदै उनले तरलता असहजको अवस्था अझै केही महिना जारी रहने र ब्याजदर घट्नुको साटो अझै बढ्नसक्ने बताएका हुन् । 

‘सरकारकै सिस्टमबाट सोझै बैंकिङ उद्योगमा पैसा आयो भने फरक अवस्था होला । तर अन्य उपायबाट तरलता सहज हुने अवस्था देख्दिँन म ।’ उनले थपे–‘साउन र भदौमा अहिलेको भन्दा ठूलो संकट होला जस्तो लाग्छ ।’ 

उनले स्थानीय निकाय निर्वाचनमा खर्च भएकोमध्ये औपचारिक माध्यममा बढीमा ४० अर्ब पैसा फर्किए पनि त्यसले अहिलेको समस्यामा खासै भिन्नता ल्याउन नसक्ने बताए । ‘बढीमा रु. ४० अर्ब सिस्टममा फर्किएला रे, यो त हाम्रो इण्डष्ट्रीका लागि एकदिनको खुराक पनि पुग्दैन ।’ उनले भने–‘त्यसकारण हाम्रो अवस्था भनेको सिस्टममा पैसा छैन, बाहिरको हिसाबकिताब के छ त्यो हामीलाई थाहा हुने कुरा पनि भएन ।’ 

उनले अबको २ महिनामा कुनै चमात्कार नहुने समेत प्रष्ट पारे । ‘जेठ र असार महिनामा गरी बढीमा रेमिटान्सबाट २०० अर्ब आउनसक्ला । पूँजीगत खर्च १०० अर्ब जति होला ।’ उनले थपे–‘२०० अर्ब त एसएलएफ नै छ । रिफाइनान्सतर्फ १०० अर्ब छ । यसरी हेर्दा प्याचिङकै लागि मात्र ३०० अर्ब ठीक्क हुने भयो । सिस्टममा रिजर्ब नै हुँदैन ।’ 

यस्तो अवस्थामा अधिकांश बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि रहेको उल्लेख गर्दै यसले साउन र भदौमा थप संकट निम्त्याउने उपाध्यायको विश्लेषण छ । 

उपाध्यायले असारमा रेभेन्यू तथा करमा पैसा जाने भएकोले त्यसले समेत अप्ठ्यारो पार्ने बताए । स्थानीय निकायमा नयाँ नेतृत्व आएकोले उनीहरु तत्काल भुक्तानीतर्फ लाग्न भन्दा पनि नयाँ बजेट बनाउनतर्फ लाग्ने र यसले समेत स्थानीय निकायबाट धेरै खर्च हुने अपेक्षा गर्न नसकिने उनको तर्क छ ।