काठमाण्डौ । सधैं कुनै न कुनै विवादमा तानिइरहने र लफडा गरिरहने एनबी ग्रुपले अवरोध नगरे प्रभू बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकबीच मर्जर हुने भएको छ ।
यी दुई बैंकले मर्जरको सम्झौता गर्नुअघि आवश्यक धेरै कुराहरुलाई अगाडि बढाइसकेका छन् ।
एनसीसी बैंक यसअघि अन्य बैंकसँग मर्जरमा जान खोज्दा त्यसबेला पनि अवरोध बनेका र स–साना कुरामा पनि लफडा गर्न माहिर एनबी ग्रुपका सदस्य लक्ष्मीबहादुर र जितबहादुर श्रेष्ठले यसपटक त्यस्तो नगरे प्रभू र एनसीसी बैंक एक हुने अवस्था बनेको उच्च स्रोतले जानकारी दिएको छ ।
यो विषयको जानकारी नेपाल राष्ट्रबैंकसम्म पनि पुगिसकेको छ । एनबी ग्रुपका विवादित पात्र लक्ष्मीबहादुर र जितबहादुरलाई मनाउने प्रयास जारी राखिएको छ । उनीहरुलाई मनाउनका लागि प्रभू बैंकका संस्थापकहरु एनसीसी बैंकको हरिसिद्धि इँटा कारखानामा रहेको करिब २ अर्ब मूल्यको जग्गा समेत दिन तयार भइसकेका छन् । 'हामीले एनबी ग्रुपलाई हरिसिद्धिको २ अर्ब रुपैयाँ बराबरको जग्गा लिएर बैंक छाडिदिन आग्रह गरेका छौं ।' यी दुई बैंकबीच मर्जर गराउने प्रयासमा लागिपरेका एनसीसी बैंकका एक संचालकले भने-'उनीहरुले २ अर्बको जग्गा लिएर लफडाबाजी छाडिदिए भने चाँडै प्रभू बैंकसँग हाम्रो मर्जरको एमओयू हुनेछ ।'
प्रभू बैंक र एनसीसी बैंकलाई एक ठूलो बैंकको रुपमा स्थापित गर्न नेपाली सेयर बजारका बादशाह तथा एनसीसी बैंकका ठूला सेयरधनी निर्मल प्रधान समेत लागिपरेका स्रोतले दाबी गरेको छ । प्रधान लगायतका ठूला सेयरधनी एनसीसीलाई प्रभूमा गाभ्ने पक्षमा रहे पनि एनबी ग्रुपले अड्को थाप्दा घटनाक्रममा अपेक्षित विकास हुन नसकेको स्रोत बताउँछ ।
'हामीले २ अर्बको जग्गा लिनुस् भन्दा पनि लक्ष्मीबहादुर र जितबहादुर बैंक छाड्न तयार देखिएका छैनन् ।' स्रोतले भन्यो-'तर उनीहरुलाई मनाउने प्रयास जारी राखिएको छ । यसमा राष्टबैंकको अभिभावकीय भूमिका आवश्यक देखिन्छ ।'
एनबी ग्रुपले सानातिना कुरामा समेत लफडा तथा मुद्धामामिला गर्ने प्रवृतिबाट आजित भएका कारण समेत प्रभूसँग मर्जर गरेपछि थप कुनै लफडा कतैबाट नआओस् भन्ने कुरालाई एनसीसीका संचालकहरुले ध्यान दिएर वार्ता तथा छलफललाई अगाडि बढाइरहेका छन् ।
'राष्ट्रबैंकले दवाब सिर्जना गर्ने भूमिका निर्वाह गरिदियो भने मर्जरको सम्झौता हुनसक्छ ।' प्रभू बैंकका एक संचालकले बिजशालासँग भने-'अहिले हाम्रो बैंकको अध्यक्ष अमेरिका भ्रमणमा हुनुहुन्छ, यदि एनबी ग्रुप हरिसिद्धिको जग्गा लिन तयार भए उहाँ नेपाल फर्किएलगत्तै एमओयू हुनसक्छ ।'
विवादित एनबी ग्रुप
एनबी ग्रुपको नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा १२ प्रतिशत र नेपाल बंगलादेश बैंकमा करिब ९ प्रतिशत सेयर लगानी रहेको छ ।
विवादको बादशाहको रुपमा चिनिने यो समूह अत्यधिक मुद्धामामिला गर्ने ग्रुपको रुपमा समेत बद्नाम छ ।
एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा मात्र लागेको छैन, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेपछि कालोसूचिमा पनि परेका कालो इतिहास छ ।
सिन्धुपाल्चोकका नरसिंहबहादुर श्रेष्ठले एनबी ग्रुपको जग बसालेका थिए । त्यसपछि यो ग्रुप उनका छोरा लक्ष्मीबहादुर र जितबहादुरले अगाडि बढाए । यो समूहले बैंक, वित्त, जलविद्युत् तथा उद्योग क्षेत्रमा लगानी विस्तार गरेको छ । अहिले सम्पत्ति विवादका कारण यो लक्ष्मीबहादुर र जितबहादुर एकअर्काविरुद्ध मुद्धामामिलासम्म पुगेका छन् ।
यो समूह गलत नियतले व्यवसाय चलाउने र पब्लिक कम्पनी नै आफ्नो निजी सरह चलाउन माहिर मानिन्छ । यही प्रवृतिका कारण यो समूहको लगानी रहेको धेरै व्यवसाय टाट पल्टिने अवस्थामा पुगे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago