काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर तीव्र सुधारको गतिमा कुद्ला भन्ने अपेक्षा विपरीत नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक नयाँ समस्याको जालोले जेलिएको छ । बजारमा हल्ला फैलिएको छ–एनसीसी बैंक बर्बादीको संघारमा छ । के साच्चिकै एनसीसी बैंक बर्बाद हुन लागेको हो ? एनसीसी बैंक समाधान नै हुन नसक्ने समस्याबाट जकडिएको हो ? 

हामीले खोजी गर्दा बजारमा चलेका हल्लाहरु निराधार देखिए । एनसीसी बैंक नयाँ समस्यामा फसे पनि सम्पूर्ण रुपमा ध्वस्तै हुन लागेको अवस्था होइन । एनसीसी बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकभित्रको चरम अनुशासनहीनता, लापरबाही, अनियमितता लगायतका कारणले मात्र एनसीसीलाई अप्ठ्यारो परेको देखिएको छ । एपेक्सले मर्जरको सम्झौता गरेपछि मौकामा चौका हान्दै त्यहाँका संचालक र व्यवस्थापनको नेतृत्व तहमा बसेकाहरुको मिलेमतोमा जथाभावी कर्जा प्रवाह गरेका र त्यही कर्जा खराबमा सूचिकृत हुँदा र उठ्ने अवस्था नहुँदा एनसीसीलाई समस्या भएको देखिएको छ । 

यतिसम्म भएछ एपेक्सभित्र
एपेक्स डेभलपमेन्ट बैंक लामो समयदेखि बित्तीय अनुशासन कायम नभएको बैंक हो । यो बैंकका संचालक तथा व्यवस्थापनको नेतृत्व सम्हालेकाहरुले ठूला–ठूला अनियमितताका काण्ड मच्चाएका यसअघि थुप्रै पटक सार्वजनिक भइसकेको छ । खोला बगरलाई समेत धितो राखेर ठूलो आकारको ऋण प्रवाह गरेकै कारण एपेक्स धराशायी बनेको थियो । विघटनको संघारमा पुुगेको एपेक्सलाई बचाउने उद्देश्यले एनसीसीसँग मर्जरको सम्झौता गरियो । तर, संचालकहरुले अन्तिम अवस्थामा समेत आफ्नो धन्दा छाडेनन् । मर्जरको सम्झौता भएलगत्तै पनि जथाभावी ऋण प्रवाह गरियो । मर्जरपछि ५० लाखको सीमाभित्र रहेर कर्जा प्रवाह गर्ने नियम त मानियो, तर त्यही ५० लाख दरको ऋण दिंदा समेत मूल्यहीन धितोलाई उच्च मूल्यांकन गरी अनियमितता गरियो । मर्जरको सम्झौतापछि मात्रै एपेक्सले १ अर्ब ६० करोड कर्जा जथाभावी प्रवाह गरेको देखिएको छ । एनसीसी बैंकमा समस्याको मूल जड त्यही १ अर्ब ६० करोड हो ।

एनसीसीलाई समस्याग्रस्त पार्ने १ अर्ब ६० करोड कर्जाको एपेक्सका संचालकले न फलोअप गरे न त कर्जापछिको अन्य प्रक्रिया नै जारी राखे । जसका कारण मर्जरपछि बेला घर्किइसकेको थियो र त्यही १ अर्ब ६० करोडले एनसीसीलाई समस्याग्रस्त बनाएको स्रोतको भनाई छ । 

के भइरहेको छ एनसीसीमा ? 
एपेक्सले १ अर्ब ६० करोड ऋण जथाभावी रुपमा प्रवाह गरेको बिषयलाई अहिले नेपाल राष्ट्रबैंकले छानबिन गरिरहेको छ । केन्द्रीय बैंकबाट राजनदेव भट्टराईको नेतृत्वमा ५ सदस्यीय टोलीले छानिबन गरिरहेको हो । यो टोलीले एपेक्सको मात्र नभई एनसीसीमा गाभिएका अन्य विकास बैंकको शाखा शाखासम्म पुुगेर छानबिन गरिरहेको छ । छानबिनको प्रारम्भिक अवस्थामा एपेक्सले मर्जरको सम्झौतापछि खोलाको बगरलाई समेत धितोको रुपमा देखाएर जथाभावी ऋण दिएको फेला परेको छानबिन समितिका एक सदस्यले बिजशालालाई बताए । ‘ऋण दिने नाममा ब्रम्हलुट मच्चाइएको रहेछ ।’ ती सदस्यले भने–‘मर्जरको क्रममा सबै कुरा छोपिन्छ भनेर यस्तो गरे होलान्, तर अब हामी यो हदसम्मको अनियमिततामा आँखा चिम्लिएर बस्दैनौ ।’ 

उच्च अदालत पाटनमा एनबी ग्रुप(जसको एनसीसीमा साढे १३ प्रतिशत सेयर छ)ले एपेक्सलाई डिमर्ज गर्न माग गर्दै उजुरी गरेपछि सो बिषयमा अदालतले तत्कालका लागि एपेक्सको सबै हिसाबकिताब छुट्टै राख्नुु र छानबिन गर्नु भन्ने आदेश दिएको थियो । सोही आदेशपछि राष्ट्रबैंक पनि छानबिनका लागि तात्तिएको हो । 

आफ्नै नेतृत्वमा भएको मर्जरमा गडबडी देखिएपछि अहिले राष्ट्रबैंकको नेतृत्व समेत एपेक्सकाण्डले तनावमा रहेको स्रोत बताउँछ । 

एपेक्स डिमर्ज हुनसक्ने !
एपेक्स डेभलपमेन्ट बैंकलाई डिमर्ज गराउनुपर्ने माग गर्दै परेको मुद्धामा उच्च अदालत पाटनले तत्काल सो बैंकको हिसाबकिताब अलग्गै राख्नुु भन्ने आदेश दिएको छ । यो आदेशसँगै एपेक्सका कुनै पनि शाखालाई एनसीसीमा रुपान्तरण गरिएको छैन । साबिकको झै एपेक्सका २० वटै शाखा संचालन भइरहेका छन् । तिनीहरुको हिसाबकिताब पनि अलग्गै राखिएको छ । मर्जर भएर पनि शाखा तथा हिसाबकिताब अलग्गै राखिएको एपेक्स डिमर्ज होला त ? धेरैमा यो जिज्ञासा छ । मर्जर सम्पन्न भइसकेको कुनै पनि संस्था डिमर्ज हुनसक्ने कानून नै त छैन, तर अदालतले अवस्था अझ भयावह देख्यो भने एपेक्सको मर्जर रद्ध गर्नु भन्नेसम्मको आदेश दिनसक्ने संभावना रहेको स्रोतहरु बताउँछन् । त्यसो भयो भने अदालतको आदेशको आधारमा राष्ट्रबैंकले काम गर्नुपर्नेछ । अदालतको आदेशपछि एपेक्स डिमर्ज हुनेछ । अदालतमा नेपाल राष्ट्रबैंकलाई समेत आवेदकले विपक्षी बनाएका छन् । यसरी एपेक्सको यो काण्डले उ आफैं डिमर्ज हुने खतराको डिलमा छ भने राष्ट्रबैंककै नेतृत्व क्षमतामाथि पनि प्रश्न उठेको छ । 

के छ एनसीसीको अवस्था ?
एपेक्सको हिसाबकिताबलाई हटाइदिने हो भने एनसीसीको अवस्था निकै मजबुत रहेको छ । उसले एपेक्सकै खराब ऋणका कारण निकै ठूलो रकम प्रोभिजनमा राख्नुपर्यो, जसको प्रभाव तेश्रो त्रैमासको प्रगति विवरणमा देखियो । तेश्रो त्रैमाससम्म एनसीसीले १ अर्ब ९ करोड संचालन मुनाफा आर्जन गरेको थियो, यो निकै राम्रो प्रगति हो । तर एपेक्सकै कारण १ अर्ब ६ करोड रुपैयाँ प्रोभिजनमा राख्नुपर्यो । ‘खराब ऋण उठेपछि यो अवस्था रहन्न, सेयरधनीले अतिरिक्त बोनस पाउने अवस्था हुन्छ ।’ एनसीसी बैंकका एक अधिकारीले भने–‘एपेक्सको खराब लोनको व्यवस्थापन मात्र हुन सक्यो भने बैंक निकै अगाडि बढ्छ ।’ 

यदि डिमर्ज भयो भने चाहि के हुन्छ ? एपेक्स डिमर्ज भयो भने एनसीसीलाई झनै सजिलो हुनेछ । ती अधिकारीका अनुसार एपेक्सकै खराब कर्जाका कारण प्रोभिजनमा राखिएको रकम प्रोफिटको रुपमा आउनेछ र सेयरधनीलाई राम्रो बोनस बाँड्न सकिनेछ । 

हाल एनसीसीको समस्यालाई एपेक्सको गडबडीले उत्पन्न कानूनी अड्चनको रुपमा मात्र बुुझ्नुुपर्ने ती अधिकारीले बताए । 

त्यसो त केन्द्रीय बैंकले ०७४ असार मसान्तसम्म ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । यो सीमामा ८ अर्ब चुक्तापूँजी पुर्याउने प्रयास अनुरुप एनसीसीले ५० प्रतिशत हकप्रद निश्कासन गर्न खोजेको थियो । हकप्रदलाई समेत अदालतमा मुद्धा परेको भन्दै कम्पनी रजिष्टारको कार्यालयले रोकिदिएको छ । 

तर, एनसीसीको हालको व्यवस्थापन एपेक्स प्रकरणकै कारण अत्तालिएको छैन ।  ‘यो हाम्रा लागि चुनौति र अवसर दुवै हो ।’ अर्का एक अधिकारीले भने–‘बजारमा प्रचार गरिएजस्तो हाम्रो अवस्था दयनीय होइन, एपेक्सको खराब कर्जाको धितोबाट राइटब्याक भएलगत्तै हाम्रो अवस्थामा आमूल सुधार हुनेछ ।’