काठमाण्डौ । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको छ।

सबै अनुमानहरु गलत साबित गर्दै एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर १२३.९ अर्ब डलरको भएको हो। बजार बन्द भएपछिको कारोबारमा पनि कम्पनीको सेयरमूल्य ४ प्रतिशतले उकालो लागेको छ। कम्पनीले प्राप्त गरेको वृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ।

कोरोना महामारीका बेला मानिसहरुले धेरैजसो समय अनलाइनमा बिताएका कारण एप्पलको बिक्री बढेको हो।

विज्ञहरुले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीमा असर पर्न सक्छ। तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताका लागि सार्वजनिक त्रैमासिक प्रतिवेदनले कम्पनी यो संकटबाट जोगिन सफल भएको देखाउँछ। 

एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आइफोन’को बिक्री ९ प्रतिशतले बढेको छ।

विज्ञहरुले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेका थिए। यो उत्पादनमात्रै बिक्रीमा १४ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ। – एजेन्सी