काठमाण्डौ । लग्जरी स्मार्ट मोबाइल फोन निर्माता कम्पनी एप्पलले २ ट्रिलियन डलरको मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को आँकडा पार गर्दै नयाँ इतिहास रचेको छ।

गत बुधबार अमेरिकी सेयर बजार खुलेसँगै कम्पनीले यो आँकडा पार गरेको हो। मात्र दुई वर्षको अवधिमा कम्पनीको बजार पुँजीकरण एक ट्रिलियन डलरबाट बढेर दुई ट्रिलियन डलर पुगेको छ। यस्तो रेकर्ड कायम गर्ने एप्पल विश्वमै पहिलो अमेरिकी कम्पनी बनेको छ। 

गत बुधबार अमेरिकी बजारमा एप्पलको सेयर ४६७.७७ डलरमा पुगेको थियो। यसका कारण कम्पनीको बजार पुँजीकरण २ ट्रिलियन डलर पुगेको हो। यसका कारण कम्पनीको ४.२७ अर्ब सेयर कारोबार भयो। 

एप्पलको एक ट्रिलियन डलरको बजार पुँजीकरण सन् २०१८ अगस्ट २ मा पुगेको थियो। 

गत ३१ जुलाईमा एप्पलले साउदी अरामकोलाई पछि पार्दै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो। वर्तमान अवस्थामा एक ट्रिलियन डलरभन्दा धेरै मूल्य भएको कम्पनीमा अमेजन, माइक्रोसफ्ट र अल्फाबेट छन्। 

यो वर्ष एप्पलको सेयर मूल्य ५९.२४ प्रतिशतले वृद्धि भइसकेको छ। कोरोना महामारीका बाबजुद पनि कम्पनीको सेयरमूल्य र भ्यालुएसनमा धेरै नै बढोत्तरी देखिएको हो। गत वर्ष कम्पनीको सेयरमूल्यमा १२२.३० प्रतिशतको वृद्धि देखिएको थियो। 

कम्पनीले जुलाई महिनाको त्रैमास रिपोर्टमा ऐतिहासिक नतिजा प्रस्तुत गरेको थियो। रिपोर्टमा कम्पनीको आम्दानीमा १० प्रतिशतभन्दा धेरै वृद्धि भएको देखिएको थियो। 

यद्यपि कोरोना महामारीका कारण कम्पनीको रिटेल स्टोर बन्द अवस्थामा थिए। यसका बाबजुद पनि कम्पनीले अनलाइन बिक्रीका मार्फत राम्रो वृद्धि हासिल गर्न सफल रह्यो। – एजेन्सी