काठमाण्डौ । सरकारलाई १ अर्ब २ करोड रुपैयाँ प्रिमियम एफपीओमा लाग्ने कर तिरेको नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को लाभांश बाँड्छ कि बाँड्दैन भन्ने विषय यतिखेर लगानीकर्ताहरुमा कौतुहलता बनेको छ । 

सर्वोच्चले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै उक्त कम्पनीले जरिवाना भरपाई नपर्ने गरी १ अर्ब रुपैयाँ करबापत बुझाइसकेको छ ।यसअघि सञ्चित रहेको रकम नै कर प्रयोजनमा तिरेका कारण अब कम्पनीले लाभांश दिन्छ कि दिंदैन भन्ने लगानीकर्ताहरुमा चासो हुनु स्वभाविक पनि हो ।

जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक व्यवसाय गर्ने उक्त कम्पनीको पछिल्लो वित्तीय अवस्था भने कमजोर बन्दै गइरहेको छ । तर कम्पनीले भने गत आर्थिक वर्ष २०७९/८० मा सेयरधनीहरुको हात रित्तो नबनाउने संकेत गरेको छ । 

वित्तीय अवस्था गत वर्षको तुलनमा केही हदसम्म कमजोर भएपनि लगानीकर्तालाई लाभांश बाँड्ने वा नबाँड्ने कम्पनीको एक्चुरी भ्यालुएसनपछि मात्रै तय हुने कम्पनीका एक सञ्चालकले बिजशाला डटकमालाई बताएका छन् । हुन त कम्पनी गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँ खुद घाटामा थियो । तर जीवन बीमा कम्पनीको हकमा लाभांश वितरण क्षमता नाफाको हकमा मात्रै सीमित नहुने ती सञ्चालकको भनाइ छ ।

‘कम्पनीले प्रिमियममा करिब ३१ लाख कित्ता जारी गरेको एफपीओको कर सरकारलाई बुझाइसकेको छ, तर त्यो भनेको कम्पनीको पुरानो दायित्व हो त्यसको लागि हामीले छुट्टै दायित्व रकम छुट्याएका हुन्छौं’, ती सञ्चालकले भने, ‘कम्पनीले वितरण गर्ने लाभांशका लागि रिजर्भ फण्डहरुको एक्चुरी भएपछि मात्रै तय हुन्छ, जुन नेपाल लाइफको बीमा कोषमा खर्ब रुपैयाँभन्दा बढी सञ्चित छ ।’ 

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को एक्चुरी भ्यालुएसन नेपाल बीमा प्राधिकरणमा पेश गरेपनि हालसम्म स्वीकृत भइसकेको छैन । अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको समेत बीमांकीय मुल्यांकन प्रतिवेदन समयमै प्राधिकरणबाट  स्वीकृत गराउन नसक्दा लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापकीय पक्ष कमजोर बन्दै गएको र गत आवको लाभांश नबाँड्ने अड्कल लगाइरहेका छन् । 

कम्पनीले एडभान्स ट्याक्सअन्तर्गत सरकारलाई एफपीओको कर तिरेको ती सञ्चालकले बताएका छन् । ‘कम्पनीले पुरानो दायित्व बहन गरेको हो, यसको मतलब यो होइन कम्पनीले लाभांश नै दिन सक्दैन वा दिन नसक्ने अवस्थामा छ’ उनले भने, ‘यसबारेमा अब छिट्टै सञ्चालक समिति बैठक बसेर कम्पनीको उच्च व्यवस्थापकसँग छलफल गर्नेछौं ।’ 

यसका साथै कम्पनीले पुरानो दायित्व बहन गर्दा नयाँ लगानीकर्तालाई मारमा राख्न नहुने समेत उनले बताए । कम्पनीले विगतका वर्षहरुमा सेयरधनीहरुलाई उत्कृष्ट लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०६८/७९ देखि लाभांश बाँड्दै आइरहेको उक्त कम्पनीले दुई आर्थिक वर्षमा ७० प्रतिशतका दरले बोनस सेयर वितरण गरेको थियो । 

औसतमा २० प्रतिशतभन्दा बढी बोनस वितरण गर्दै आएको कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने सेयरधनीलाई १५।७९ प्रतिशत नगद  लाभांश मात्रै वितरण गरेको थियो ।