काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले निश्कासन गरेको ३ बराबर १ अनुपातको हकप्रद खरीदका लागि अब ६ दिन मात्र बाँकी छ । 

बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर आफ्ना सेयरधनीका लागि असार १८ गतेदेखि बिक्री खुल्ला गरेको हो । 

हकप्रदका लागि इच्छुक सेयरधनीले साउन २२ गतेभित्र तोकिएका स्थानमा गएर आवेदन दिनसक्ने बैंकले जनाएको छ । 

एभरेष्ट बैंकले हकप्रद सेयरका लागि असार ७ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ गत असार ६ गतेभित्र यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गरिरहेको छ । बिक्री प्रबन्धकको काठमाण्डौ, लाजिम्पाटस्थित मुख्य कार्यालय र एभरेष्ट बैंकका सबै शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

हाल एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६ अर्ब ३ करोडको उचाईमा पुुग्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरको आन्तरिक प्रक्रिया चलिरहेको बताउने गरिए पनि यो सम्बन्धमा आधिकारिक जानकारी बाहिर आइसकेको छैन । एभरेष्ट बैंकले १०० : ३५ को सेयर स्वाप अनुपातमा लक्ष्मी बैंकलाई खरीद गर्न लागेको हल्ला अझै कम भएको छैन । 

यदि लक्ष्मी बैंकलाई खरीद गर्ने प्रक्रिया सफल भएन भने यो बैंकले करिब २ अर्ब बराबरको बोनस सेयर वितरण गरेर तोकिएको चुक्तापूँजी ८ अर्ब पुर्याउने बताइएको छ ।