काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९८ करोड खूद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १४.५३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा १ अर्ब ७३ करोडमा सीमित थियो । 

यो बैंकले व्यवसाय बिस्तारमा खासै धेरै प्रगति गर्न सकेन । यहीकारण अघिल्लो वर्ष ३ अर्ब २२ करोड रहेको खूद ब्याज आम्दानी वृद्धि भई यो वर्ष ३ अर्ब ७३ करोड पुुगेको छ । 

यो बैंकको विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष विदेशी मुद्राको कारोबारबाट ११ करोड २९ लाख आम्दानी भएकोमा यो वर्ष घटेर ९ करोड ४० लाख मात्र भयो । 

अघिल्लो वर्ष २ अर्ब ६६ करोड रहेको संचालन नाफामा वृद्धि भई ३ अर्ब ५ करोड पुुगेको छ । अघिल्लो वर्ष ६९ करोड ९८ लाखमा सीमित कर्मचारी खर्च वृद्धि भई समीक्षा अवधिमा ८८ करोड १४ लाख पुुगेको छ । अन्य संचालन खर्चमा समेत ८ करोडले वृद्धि भएको छ । 

यो अवधिमा बैंकले ९५ अर्ब ९ करोड निक्षेप संकलन गरी ७८ अर्ब २८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ९३ अर्ब ७३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ९१ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ३ अर्ब ९० करोडमा सीमित जगेडाकोषको आकार बढेर ५ अर्ब ८८ करोडको उचाईमा पुुगेको छ । हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । 

बैंकको निस्क्रिय कर्जा अनुपात पनि केही बढेको छ । अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको यस्तो अनुपात वृद्धि भई ०.५१ प्रतिशत पुुगेको हो । 

गत वर्ष ३३.३३ प्रतिशत हकप्रद दिएर पूँजी बढाउँदा यो बैंकले प्रतिसेयर आम्दानीलाई भने नियन्त्रणमा राख्न सकेन । जसका कारण अघिल्लो वर्ष ६५.९७  रुपैयाँ रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा ४३.७८ रुपैयाँमा झरेको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ २२९.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.९० गुणा कायम भएको छ ।