काठमाण्डौ । सेयर बजारका सर्वसाधारण लगानीकर्ता आफूले लगानी गरेको कम्पनीले लाभांशको रुपमा बोनस सेयर दियोस् भन्ने चाहन्छन् । तर, संस्थापक सेयरधनीलाई भने नगद लाभांश नै आउँदा समेत खुशीको बहार आउँछ । जब कुनै कम्पनीले संस्थापकहरुको मात्र हित गरी थोरै बोनस सेयर र धेरै नगद लाभांश दिने प्रस्ताव गर्छ, तब त्यसको प्रतिक्रिया दोश्रो बजारमा प्रष्टै देखिन्छ । आकर्षक लाभांश घोषणा गर्ने कम्पनीहरुमै पनि गिरावटको मार देखिन्छ । सर्वसाधारण लगानीकर्ता निराश बनेर सेयर बिक्री गर्न थाल्छन्, जसको सोझो असर कम्पनीको दोश्रो बजार मूल्यमा पर्छ । 

समग्रमा सन्तोषजनक लाभांश वितरणको प्रस्ताव गरेको एभरेष्ट बैंकको सवालमा समेत यस्तै भएको छ । 

एभरेष्ट बैंकले सोमबार आर्थिक वर्ष २०७५ ७६ का लागि ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । तर, प्रस्तावित लाभांशले सर्वसाधारण लगानीकर्ताको दिल भने खुश देखिएन । 

कम्पनीले घोषणा गर्ने लाभांश प्रतिसेयर अंकित मूल्य रु. १०० को आधारमा हुने गर्छ । एभरेष्ट बैंकले घोषणा गरेको २० प्रतिशत नगद लाभांशका कारण सर्वसाधारण लगानीकर्ता असन्तुष्ट बन्नुको कारण हो, उनीहरुमध्ये अधिकांशले किनेको सेयरको मूल्य रु. १०० होइन । उनीहरुले दोश्रोबजारबाट सेयर उठाउँदा सोबेलाको अन्तिम कारोबार मूल्य बराबरको रकम तिर्नुपर्छ । बैंकले घोषणा गरेको २० प्रतिशत नगद लाभांश प्रतिकित्ताको मूल्य रु. १०० मानेर त्यसको मात्रै २० प्रतिशतको दरले हो । जबकि यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा प्रतिकित्ता ५७४ रुपैयाँमा कारोबार भइरहेको थियो । यसको सोझो अर्थ भयो साढे ५ सयको हाराहारीमा पैसा हालेर किनेको सेयरको रिटर्न समग्रतामा रु. २० मात्र भयो । ५ प्रतशित बोनस सेयरको रुपमा आयो । अर्थात, १०० कित्ता एभरेष्ट बैंकको सेयर हुनेको सेयर संख्या बढेर १०५ कित्ता हुने भयो ।

संस्थापक सेयरधनीले बैंक खोल्दा प्रतिकित्ताका लागि अंकित दर रु. १०० कै हिसाबमा लगानी गरेका छन् । यसकारण नगद लाभांशले यस्ता सेयरधनीलाई बढी लाभ हुन्छ । उनीहरुले लगानीको २० प्रतिशत सोझै पाउँछन् । 

माथि उल्लेख गरिएजस्तो बोनस सेयरको रुपमा सम्बन्धित कम्पनीको सेयर नै पाइने भएकोले समेत सर्वसाधारण बोनस सेयरको बढी अपेक्षा गर्छन् । एभरेष्ट बैंकको केशमा पनि त्यही भएको हो । 

दुई दिनमा १.६ अर्ब स्वाहा
यसैबीच, नगद लाभांश बढी घोषणा गरेकै कारण एभरेष्ट बैंकको सेयर मूल्य निरन्तर घट्न थालेको छ । 

लाभांश घोषणा गर्नुभन्दा अघिल्लो दिन बजार बन्द हुँदा बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको थियो । लाभांश घोषणा गरेको नि घटेर ५६० मा झर्यो ।

मंगलबार पनि अझै मूल्य घटेर प्रतिकित्ता ५५४ रुपैयाँमा सीमित बन्न पुग्यो । यसरी एभरेष्ट बैंकका लगानीकर्ताले २ दिनमै प्रतिकित्ता २० रुपैयाँको दरले सम्पत्ति गुमाउन पुगे । 

हाल नेप्सेमा एभरेष्ट बैंकको ८ करोड २ लाख ६८ हजार ६३७ कित्ता सेयर सूचिकृत छ । यही सेयर संख्यालाई आधार बनी हिसाब गर्दा लगानीकर्ताले २ दिनमा कुल १ अर्ब ६० करोड ५३ लाख ७२ हजार ७४० रुपैयाँ बराबरको सम्पत्ति गुमाएका देखिएको छ । अर्थात एभरेष्ट बैंकको बजार पूँजीकरण रु. १.६ अर्बले घटेर ४४ अर्ब ४६ करोड ८८ लाख २४ हजार ८९८ रुपैयाँमा सीमित बन्न पुगेको छ ।