काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को आम्दानी घट्दै गएपछि विश्वस्तरमै कम्पनी टाट पल्टिन लागेको आकलन गर्न थालिएको छ ।

ट्विटरको रुपमा परिचित एक्स बहिष्कार गर्ने विज्ञापनदाताहरूलाई एलन मस्कले लगातार तिखो आक्रमण गर्न जारी राखेपछि प्रविधि विज्ञहरू मात्र नभई प्रयोगकर्ताहरु पनि यतिखेर चकित छन्।

यदि विज्ञापनदाताहरू एक्स छाड्छन् र फर्केर आउँदैनन् भने, के एक्स बाँच्न सक्छ त ? यस्ता अड्कलबाजी सुरु भइसकेको छ । विज्ञापन कमीकै कारण ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झरिसकेको छ भने केहि समययता कारोबार र नाफामा ठूलो धक्का लागेको छ ।

अझ यहि बेला बहुराष्ट्रिय कम्पनीहरुले सामूहिक रुपमा नै विज्ञापन कटौती गरेपछि कम्पनीको भविष्य अनिश्चित यात्रामा रहेको भन्दै प्रयोगकर्ताहरुले मस्कको कार्यशैलीलाई लिएर आलोचना गर्न शुरु गरेका छन् ।

पछिल्लो समय जातीय र धार्मिक घृणा फैलाउने (एन्टिसेमेटिक) र जातिवादी (रेसिस्ट) कन्टेन्टमा कुनै रोकतोक नलाएको र मस्क आफैंले त्यस्ता सामग्री पोस्ट गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाउँदै आएका छन् ।जसको प्रतिरक्षामा उल्टै मस्कले दाताहरुको तिखो आलोचनासमेत गरिरहेका छन् ।

वार्नर ब्रदर्स,एप्पल, डिज्नी, वालमार्ट, कमकास्ट, पारामाउन्ट ग्लोबल, लायन्सगेट इन्टरनेटशनलजस्ता प्रख्यात ब्रान्ड एवं कम्पनीले एक्समा आफ्ना विज्ञापन रद्द गरेका छन् ।

विज्ञापनबापतको आम्दानी बढाउन निरन्तर प्रयास गरिरहेको एक्सका लागि यो ठूलो झट्का हो ।ठूला ब्रान्डहरूको मन जितेर विज्ञापनबाट आय बढाएर मूख्य स्रोत बनाउन पहल गरिरहेको एक्सका लागि हालको समय कठिन  भएको छ ।

विज्ञापनको बारेमा कुरा गर्दै एउटा अन्तरवार्तामा मस्कले यदि डिज्नीले बालबालिकाका चलचित्रहरू एक्समा विज्ञापन गर्न सहज महसुस गर्छ र एप्पलले आईफोनको विज्ञापन गर्न सहज महसुस गर्छ भने, यो अरुका लागि विज्ञापन गर्ने राम्रो ठाउँ भएको बताएका छन् ।

गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेको कम्पनी टाट पल्टिएको खबर अकल्पनीय लाग्न सक्छ। विज्ञहरुले त मस्कको यस्तै रबैया रहि रहने हो भने ‘यो सम्भव छ’ भनेका छन्।

ईविक्विटका चिफ क्लाइन्ट अफिसर मार्क गेले भने, ‘यद्यपि हामीसँग नवीनतम तथ्यांकहरु छैनन्, गतवर्ष लगभग कम्पनीको ९० प्रतिशत आम्दानी विज्ञापनबाट थियो। वास्तवमा यो व्यापारको मुटु हो तर यो नै रहेन भने कम्पनी टाट नपल्टिएला र ?’

उनका अनुसार यदि कम्पनी असफल भयो भने यो विज्ञापनदाता बहिष्कारको कारण असफल हुनेछ। र यसले कम्पनीलाई  टाट पल्टाउँ छ । उनी भन्छन्, ‘विज्ञापनदाता एक्समा फर्किने कुनै संकेत भने छैन।’
इन्साइडर
इन्टेलिजेन्सका प्रमुख विश्लेषक जस्मिन एनबर्गले एक्सको बिलहरू तिर्ने विज्ञापनदाता र कम्पनीहरूलाई सार्वजनिक र व्यक्तिगत रूपमा मस्कले आलोचना गर्नु दुखद भएको बताए । 
के एक्स साँच्चै टाट पल्टिदैं छ त ?
यदि विज्ञापनदाताहरू अन्यत्र मोडिए भने एक्सको भविष्य अनिश्चित मात्र होइन दुखद हुने आकलन छ । अहिले शुल्क तिर्ने १ मिलियन व्यक्तिहरू छन् जसले सदस्यता लिएका छन् । उनले भने, ‘मानौं, १०० डलर प्रतिवर्ष । त्यो भनेको १०० मिलियन डलर हो। कम्पनीका लागि यो राजस्व विज्ञापनबाट हुने आयसँग तुलना गर्दा एकदम सानो रकम हो ।’

सन् २०२२ मा ट्विटरको विज्ञापनबाट हुने आम्दानी करिब ४ बिलियन डलर थियो। इन्साइडर इन्टेलिजेन्सले भने यो वर्ष कम्पनीको राजस्व १.९ बिलियन डलरमा झर्ने प्रक्षेपण गरेको छ।

कम्पनीसँग हाल दुई वटा प्रमुख खर्च छन्। पहिलो यसको कर्मचारीका लागि तलब भुक्तानी । दोस्रो भनेको मस्कले ट्विटर किन्नको लागि लिएको ऋण । यसका लागि उनले अनिवार्य रुपमा १३ बिलियन डलर भुक्तानी गर्नु पर्दछ।समाचार एजेन्सी रोयटर्सका अनुसार  कम्पनीले अब प्रत्येक वर्ष ब्याज भुक्तानीमा १.२ बिलियन डलर तिर्नुपर्छ।

यदि कम्पनीले ऋणको ब्याज र कर्मचारीहरूलाई समयमा तलब भुक्तानी गर्न सक्दैन भने कम्पनी टाट पल्टिएको मानिनेछ । जुन सूचना प्रविधिको उद्योगका लागि एक चरम परिदृश्य हुनेछ । यस्ते परिदृष्य ल्याउन मस्क पक्कै चाहने छैनन् । -एजेन्सीहरुको सहयोगमा