काठमाण्डौ । ट्विटरका नयाँ सीईओ एलन मस्कले अब ट्विटरमा ट्विट पढ्नका लागि सीमा तोकेका छन्। 

मस्कले आफैँ ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। मस्कका अनुसार अब ट्विटरका ननभेरिफाइड प्रयोगकर्ताले एक दिनमा १ हजार ट्विटमात्र पढ्न सक्नेछन्। साथै, भेरिफाइड अकाउन्टमा १० हजार ट्विट पढ्ने सुविधा हुनेछ।

सीमा तोकिएसँगै मस्कले एउटा सुझावसहितको ट्विट पनि सेयर गरेका छन्। आफ्नै नामको प्यारोडी अकाउन्ट सेयर गर्दै उनले मानिसहरुमा ट्विट पढ्ने बानी भइसकेको उल्लेख गरेका छन्। ‘अब मानिसहरु बाहिर पनि जानुपर्छ’, उनले लेखेका छन्, ‘किनकि संसारका लागि केही राम्रो काम गर्न सकियोस्।’ 

नयाँ पोलिसीअनुसार ट्विटर ब्लु अर्थात् ब्लु टिक भेरिफाइड अकाउन्टको सदस्यता लिने प्रयोगकर्ताले हरेक दिन १० हजार पोस्ट पढ्न सक्नेछन्। यसबाहेक ननभेरिफाइड प्रयोगकर्ताहरुले एक दिनमा १ हजार पोस्टमात्र पढ्न सक्षम हुनेछन्। यसका साथै पुष्टि नभएका नयाँ ट्विटर अकाउन्ट होल्डरहरुले १ दिनमा ५०० वटामात्र ट्विट हेर्न सक्षम हुनेछन्। –एजेन्सी