काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालको पन्ध्रौंंं वर्ष पूरा गरी सोह्रौं  वर्षमा प्रवेश गरेको छ । 
 
सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरेको छ । 
 
वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै मिति २०७९ चैत २१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाण्डौं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी तथा सर्वसाधारण समेत ४६ जनाले रक्तदान गरेका छन् ।
 
साथै देशभरका ६१ वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत स्थानीय मठमन्दिर, आश्रम, विद्यालय तथा अनाथालयमा शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।
 
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा पन्ध्र वर्षदेखि निरन्तर सहयोग पुर्याउनेप्रति आभार व्यक्त गरेका थिए । 
 
उनले उत्कृष्ट जीवन बीमा सेवा प्रवाह गर्दै बीमित र शेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्न कम्पनी कटिबद्ध रहेको समेत बताए ।
 
यस कम्पनीको चालु आ.व. २०७९/८० को फागुनसम्ममा जीवन बीमाकोष रु.३५ अर्ब ६० करोड र कुल बीमाशुल्क रु.४० अर्ब  ८५ करोड रहेको छ । कुल लगानी रु.३९ अर्ब ८ करोड छ । 
 
यसैगरी चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु.४ अर्ब ५५ करोड आर्जन गरेको छ । कम्पनीमा ६ लाख ११ हजार सक्रिय बीमालेख छन् । 
 
रु.२ अर्ब ९० करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आव २०७८/७९ को संचित नाफाबाट ८.९४७ प्रतिशत बोनश शेयर प्रस्ताव गरिएको छ।