काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ४ करोड २१ लख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यो कम्पनीको नाफा ३ करोड ६ लाख थियो । यो हिसाबले खूद नाफातर्फ ३८ प्रतिशतको प्रगति देखिएको हो । 

समीक्षा अवधिमा यो कम्पनीले २ अर्ब २९ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो शुल्कबापतको आम्दानी १ अर्ब ९९ करोड थियो । 

एशियनले यो अवधिमा लगानी, कर्जा तथा अन्यबाट ७१ करोड ७३ लाख आम्दानी गरेको छ । बिमालेखको धितोकर्जाबाट १ करोड ७८ लाख कमाएको छ । अघिल्लो वर्ष लगानी, कर्जा तथा अन्यबाट ५४ करोड ८४ लाख र बिमालेख धितो कर्जाबाट १ करोड ३ लाख आम्दानी भएको थियो।

समीक्षा अवधिमा एशियनले १७  करोड २१ लख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यो अवधिमा कम्पनीले ११ करोड ६६ लाख दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिसनतर्फ मात्रै २५ करोड ३१ लाख खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च २३ करोड १७ लाख थियो । 

एशियनले हालसम्म १ करोड १७ लाख र समीक्षा अवधिसम्म २२ लाख ९३ हजार बिमा शुल्क आर्जन भएको छ । 

समीक्षा अवधिमा एशियन लाइफको जीवन बिमा कोषमा १० अर्ब माथि पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो कोषमा ७ अर्ब ८७ करोड मात्र थियो । 

एशियन लाइफको जगेडा कोषमा भने संकुचन आएको छ । अघिल्लो वर्षको यही अवधिमा जगेडा कोषमा २० करोड २५ लाख रहेकोमा समीक्षा अवधिसम्म घटेर १८ करोड ९८ लाखमा झरेको छ । यो बिमा कम्पनीको चुक्तापूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा एशियनको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४८.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७८.८८ गुणा कायम भएको छ ।