काठमाण्डौ । वाणिज्य बैंकहरुले साना तथा मझौला (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जालाई घटाएका छन्।
बैंकिङ प्रणालीमा गत आर्थिक वर्षबाटै देखिएको लगानीयोग्य रकम (तरलता) को अभावले समग्र कर्जा लगानीको दायरा खुम्चिएको अवस्थामा यो क्षेत्रमा जाने कर्जा पनि घटेको हो।
नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा यो पुस मसान्तमा एसएमई क्षेत्रमा वाणिज्य बैंकहरुको कर्जा लगानी घटेको छ। विभागका अनुसार वाणिज्य बैंकहरुले गत पुससम्ममा कुल कर्जाको ११.१५ प्रतिशत यो क्षेत्रमा कर्जा लगानी गरेका थिए। यस्तो लगानी चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा १.६४ प्रतिशतले घटेर ९.५१ प्रतिशतमा कायम भएको छ।
तरलताको समस्यालगायतले ब्याजदर महँगिँदा बैंकहरुको समग्र कुल कर्जा लगानीमा नै खासै बढात्तरी देखिएको छैन। राष्ट्र बैंकको तथ्यांकले गत वर्षको १ वर्षको अवधिमा कुल कर्जा ३.१४ प्रतिशत मात्रै वृद्धि भएको देखाएको छ। चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल ४ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा गतवर्षको सोही अवधिमा कुल ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो।
समीक्षा अवधिमा सबैभन्दा धेरै कृषि विकास बैंकले एसएमई क्षेत्रमा कुल कर्जाको २४.३६ प्रतिशत कर्जा लगानी गरेको छ भने सबैभन्दा कम हिमालयन बैंक र स्टान्डर्ड चाटर्ड बैंकले क्रमशः १.५९ प्रतिशत र १.९५ प्रतिशत कर्जा दिएको हुन्।
एसएमई क्षेत्रमा राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, कुमारी, सिटिजन्स, सनसाइज र एनएमबी बैंकले कुल कर्जाको ११ प्रतिशतभन्दा माथि कर्जा लगानी छ भने सोभन्दा कम रहेको छ।
कृषि र ऊर्जा क्षेत्रमा झिनो वृद्धि
एसएमई क्षेत्रमा कर्जा लगानी घटाएका वाणिज्य बैंकहरुले कृषि क्षेत्र र ऊर्जा क्षेत्रमा भने केही बढाएका छन्। विभागका अनुसार गत वर्षको मध्यावधि समीक्षाको तुलनामा वाणिज्य बैंकहरुले यो पुस मसान्तसम्ममा कृषि क्षेत्रमा ०.१३ प्रतिशत मात्रै कर्जा लगानी बढाएका हुन्। यस्तै उर्जा क्षेत्रमा पनि ०.५३ प्रतिशत कर्जा प्रवाह बढेको हो।
गत वर्षको पुस मसान्तसम्ममा कृषि क्षेत्रमा कुल कर्जा लगानीको १२.९६ प्रतिशत कर्जा लगानी भएको थियो। वाणिज्य बैंकहरुले चालु आवको पुस मसान्तसम्म आउँदा ०.१३ प्रतिशतले बढाएर १३.०९ प्रतिशत कर्जा प्रवाह गरेका हुन्।
त्यसैगरी समीक्षा अवधिमा उर्जा क्षेत्रमा औसतमा ६.२९ प्रतिशत ऋण लगानी भएको छ। जुन गत वर्षको सोही अवधिमा ५.७६ प्रतिशत थियो।
समीक्षा अवधिमा कृषि क्षेत्रमा कृषि विकास बैंकले सबैभन्दा बढी २८.३५ प्रतिशत कर्जा लगानी गरेको छ। यस्तै माछापुच्छ्रे, लक्ष्मी, ग्लोबल आइएमई, एनएमबी बैंकले १० प्रतिशतको लाइनका यो क्षेत्रमा लगानी गरेका छन् भने अन्य बैंकको सो भन्दामाथि रहेको छ।
त्यसैगरी समीक्षा अवधिमा उर्जा क्षेत्रमा भने सानीमा बैंकले सबैभन्दा बढी ९.९६ प्रतिशत कर्जा प्रवाह गरेको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19