काठमाण्डौ । बजारको हटकेकमध्येको एक नेपाल एसबीआई बैंकले ४ लाख ६९ हजार ५२.६० कित्ता साधारण सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

यो बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै बिक्री नभएको हकप्रद बोलकबोलमार्फत बिक्री गर्ने भन्दै लिलामीमा सहभागी हुन इच्छुकलाई आह्वान गरेको हो । 

एसबीआईले २०७४ जेठ ७ गते १० बराबर ४ को अनुपातमा हकप्रदको बिक्री खुलाएको थियो । तर त्यसमध्ये ४ लाख ६९ हजार ५२.६० कित्ता बिक्री भएको थिएन । 

लिलामीमा आगामी साउन ९ गतेदेखि आवेदन दिन सकिने बैंकले जनाएको छ । साउन १६ गतेसम्म इच्छुकले तोकिएको ठाउँमा गोप्य प्रस्ताव पेश गर्न सक्नेछन् । लिलामीको नतिजा साउन १८ गते प्रकाशित गरिने बैंकले प्रष्ट पारेको छ । 

लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ राख्नुपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

एनएमबी क्यापिटल लिमीटेडले एसबीआईको बिक्री नभएको सेयर लिलामीको प्रबन्धकको काम गर्नेछ । 

काठमाण्डौको नक्सालस्थित एनएमबी क्यापिटलको मुख्य कार्यालयमा गएर इच्छुक लगानीकर्ताले आफ्नो प्रस्ताव दर्ता गराउन सक्नेछन् । 

नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७३/७४ को तेश्रो त्रैमाससम्ममै १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको थियो । सबै हकप्रद बिक्रीपछि बैंकको चुक्तापूँजी ६ अर्ब ९७ करोडको उचाईमा पुुग्नेछ । यो बैंकले ८ अर्ब चुक्तापूँजी पुर्याउन १ अर्ब ३ करोड बराबरको बोनस सेयर दिने देखिन्छ । 
यो कम्पनीको सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ९ सय २५ रुपैयाँ रहेको छ ।