काठमाण्डौ । भारतको स्टेट बैंक अफ इण्डिया(एसबीआई) समूहको लगानीमा संचालित नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफातर्फ १४.१४ प्रतिशतको प्रगति गर्दै १ अर्ब ५२ करोड कमाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ३३ करोड रुपैयाँ थियो । 

अघिल्लो वर्ष २ अर्ब ४१ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ९१ करोडको उचाईमा पुुगेको छ भने २ अर्ब ५ करोडमा सीमित संचालन मुनाफामा वृद्धि भई २ अर्ब ३४ करोड पुुगेको छ । 

यो अवधिमा बैंकले ८१ अर्ब ६६ करोड निक्षेप संकलन गरी ६३ अर्ब २ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६५ अर्ब २१ करोड निक्षेप संकलन गरी ४६ अर्ब ९७ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले रिजर्ब कोषमा ८०.२१ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ९४ करोड रुपैयाँ रहेको कोषमा अहिले ३ अर्ब ५० करोड रुपैयाँ पुुगेको हो । 

नन अपरेटिंग इनकम अत्यन्त कम भएको र व्यवसायबाटै नाफा वृद्धि गरी जगेडा कोष समेत मजबुत बनाएकोले नेपाल एसबीआई बैंक लगानीका लागि थप आकर्षक वाणिज्य बैंक बन्न पुुगेको छ । यो बैंकको हाल चुक्तापूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । बैंकले ८ अर्ब पुर्याउन अपुुग रकम बराबरको बोनस दिएर सुविधाजनक हिसाबले पूँजीवृद्धिको लक्ष्य प्राप्ति गर्ने देखिन्छ । 

बैंकको पूँजी ४ अर्ब ९७ करोडबाट बढेका कारण प्रतिसेयर आम्दानी ३०.६२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १५०.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.२१ गुणा कायम भएको छ । 

पूँजीवृद्धिपछिको अवस्थामा यो बैंकले प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न नसकेको देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३४.२९ रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष घटेर ३०.६२ रुपैयाँ कायम भएको देखिएको छ ।