काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको मंसिर २९ गते सम्पनन २६ औं वार्षिक साधारणसभाले यसअघि संचालक समितिबाट भएको प्रस्तावअनुसार ६ प्रतिशत बोनस सेयर र १०.८४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो । 

काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको बैंकले जनाएको छ । 

बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र रु. २२९.२५ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।