काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको कारोबार गर्दा सजग हुन आग्रह गरेको छ। 

केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। राष्ट्र बैंकले विशेषगरी वित्तीय भुक्तानीको कारोबार गर्दा प्रयोग हुने ओटीपी अरुलाई नदिन सचेत पनि गराएको छ। 

ओटीपी भन्नाले एकपटकमात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड भन्ने बुझिन्छ। विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानका लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो। 

निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन वा ई–मेलमा मात्र प्राप्त हुने भएकोले अन्य कसैलाई पनि ओटीपी दिन नहुने राष्ट्र बैंकले जनाएको छ। ‘विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन्’, राष्ट्र बैंकले भनेको छ, ‘त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्नुपर्दछ।’

राष्ट्र बैंकका अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन्। ‘त्यस्तै तपाइँले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाइँंको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक पर्दैन’, सूचनामा भनिएको छ।