काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ मा ओम डेभलपमेन्ट बैंकले खूद नाफातर्फ लोभलाग्दो प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो बैंकले खूद नाफातर्फ ११२.२२ प्रतिशतको प्रगति हासिल गरेको हो । 

आइतबार बैंकले प्रकाशित गरेको विवरणअनुसार आर्थिक वर्ष २०७१/७२ मा १५ करोड ४३ लाख खूद नाफा भएकोमा २०७२/७३ मा बढेर ३२ करोड ७६ लाख पुगेको छ । खूद ब्याज आम्दानीतर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । २४ करोड ६७ लाखमा सीमित रहेको खूद ब्याज आम्दानी आब २०७२/७३ मा बढेर ५३ करोड ४ पुगेको छ । 

५ अर्ब ६ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको बैंकले गत आबमा ११ अर्ब ८५ करोड निक्षेप संकलन गरेको छ । यसैगरी, ४ अर्ब १० करोडमा सीमित रहेको कर्जा प्रवाह बढेर ९ अर्ब ९२ करोड पुगेको छ । 

निस्क्रिय कर्जा दर(एनीपएल रेट) चाहि केही बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५४ प्रतिशत रहेको यस्तो कर्जा आब २०७२/७३ मा बढेर ०.७८ प्रतिशतमा पुगेको हो । 

ओम डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । रिजर्ब र सरप्लसतर्फ पनि राम्रै बढोत्तरी भएको छ । यो शीर्षकको कोष १४ करोड २८ लाख रहेकोमा यो वर्ष बढेर ५७ करोड ६५ लाख पुगेको छ । 

बैंकको प्रति सेयर आम्दानी ३१.१२ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५४.७६ रुपैयाँ रहेको छ । पीई रेसियो २०.२५ को सन्तोषजनक अवस्थामा छ ।