काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले कोरियाकै पहिलो मनि ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन भ्रमण गरेका छन् । 

जीएमईका प्रमुखकार्यकारी अधिकृत जोन सुंगले सो अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए ।

भ्रमणका क्रममा गभर्नर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिएका थिए । अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसंग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटेन्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको प्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउन आग्रह गरे ।

यसै सन्दर्भमा कोरियास्थित नेपाली दुतावासमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले कोरियाबाट अबैधानिक च्यानलमार्फत नेपाल जाने पैसा रोक्नु नेपाल राष्ट्र बैंकको मुख्य प्राथमिकता रहेको जानकारी गराए । नेपाल सरकारले इपीएसमार्फत कोरिया सरकारसँग सम्झौता गरी वैदेशिक रोजगारीको राम्रो अवसर प्रदान गरेको भन्दै त्यसको कदरका लागि बैधानिक माध्यमबाट रेमिटेन्स पठाएर सहयोग गर्न आग्रह गरे । 

वैदेशिक रोजगारीको शिलशिलामा कोरियालगायत अन्य मुलुकमा रहेका नेपालीहरुले औपचारिक माध्यमबाट पैसा नपठाए अर्को पटक विदेश जानका लागि रोक लगाउन सक्नेसम्मको व्यवस्था गरिने उनले जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरियाका लागि नेपालका राजदुत अर्जुन जंगबहादुर सिंहले कोरियाबाट हुने हुण्डी कारोबारलाई निरुत्साहित गर्न दुतावास र नेपाल राष्ट्रबैंकले कडा कदम चाल्न त्यही अनुरुपको नियम ल्याउँदै गरेको जानकारी दिए । कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सम्बोधन गरेका थिए । ढकालले सन् २०१३ देखि ग्लोबल आइएमई बैंक र कोरियास्थित वाणिज्य बैंकहरुको सहकार्यमा रेमिटेन्स सेवा दिँदै आएको जानकारी दिए । 

शनिबार र आइतवार बैंकका सेवा बन्द हुने र अन्य प्रक्रियागत कारणले सोचे जस्तो रेमिटेन्स भित्रिन नसकेको भन्दै अबदेखि जीएमईका सबै शाखाहरूबाट हप्ताका सातै दिन छिटो छरितो रेमिटेन्स सेवा दिनसक्ने हुँदा जीएमईले कोरियाबाट नेपाल रेमिटेन्स भित्रयाउन उल्लेख्य योगदान पुर्याउने विश्वास ब्यक्त गरे । 

एकपटक कोरिया बसेको व्यक्ति पुनःकोरिया फर्किन चाहेमा बैधानिक माध्यमबाट मात्र रेमिटेन्स पठाएको हो भन्ने प्रमाण स्वरूप जीएमईको स्टेटमेन्ट प्रिन्ट दिने व्यवस्था मिलाइएको जानकारी समेत सो क्रममा दिइएको थियो ।

जीएमईको सेवा जीएमईका सबै शाखासहित अनलाइनबाट समेत लिनसक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सातहजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तान लिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्मा गर्न सकिन्छ ।

जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवा प्रदान गर्ने इजाजत दिएको थियो । सोही अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ।