काठमाण्डौ । यमनको विद्रोहि हुथी समूहले लालसागरमा व्यवसायिक जहाजलाई आक्रमणको निशाना बनाउने क्रम बढेसँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुडको मूल्यमा १ प्रतिशतको मूल्यवृद्धि भएको हो । 

डब्लुटीआई क्रुडको मूल्य १ प्रतिशत अर्थात ०.३७ डलरले बढ्दै प्रतिब्यारेल ७३.४३ डलर कायम भएको छ । त्यस्तै ब्रेन्ट क्रुडको मूल्य ०.७५ प्रतिशत अर्थात ०.५९ डलरले बढ्दै प्रतिब्यारेल ७८.८४ डलर कायम भयो । 

हमासलाई समर्थन गरिरहरको हुथी समूहले गत नोभेम्बरदेखि लालसागरबाट आवतजावत गर्ने २० वटा जहाजमाथि आक्रमण गरिसकेको छ । आक्रमणको भयका कारण लालसागर भएर आवाजजावत गर्ने करिब २० प्रतिशत जहाजले यात्रा स्थगित गरेका छन् । 

अमेरिका,बेलायत लगायतका १० राष्ट्रले हुथी समूहलाई लालसागरमा व्यवसायिक जहाजमाथिको आक्रमण तुरुन्तै रोक्न चेतावनि दिएका छन् । आक्रमण नरोके हुथी समूहले यसको परिणाम भोग्नुपर्ने भन्दै १० देशको समूहले संयुक्त वक्तव्य जारी गरेका छन् । 

अन्तराष्ट्रिय बजारमा गत वर्ष तेलको मूल्यमा सन् २०२० यताकै पहिलो वार्षिक गिरावट आएको थियो । गत वर्षको अन्तिम कारोबार दिन डब्लुटीआई क्रुड ०.१७ प्रतिशतले घट्दै प्रति ब्यारेल ७१.६५ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट क्रुड पनि ०.१४ प्रतिशतले घट्दै प्रतिब्यारेल ७७.०४ डलर पुगेको थियो । 

गत ५ दिनको अवधिमा डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल १.७५ डलरले बढेको छ । त्यस्तै यो अवधिमा बे्रन्ट क्रुडको मुल्य प्रतिब्यारेल १.८ डलरले वृद्धि भएको छ । -एजेन्सी