काठमाण्डौ  । बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस इपेमेन्ट  प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्तसम्मका लागि मिनाहा गरिने व्यवस्था गरेको छ । 

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टरनेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य इन्डाइरेक्ट/टेक्निकल सदस्यको च्यानल लगायतबाट कनेक्ट आइपीएस इपेमेन्टमार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र वित्तीय कारोबार पनि सहज ढङ्गले संचालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अनलाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने कम्पनीले अपेक्षा गरेको छ । 

कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिंक गरी फण्ड ट्रान्सफर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाट रु १ लाखसम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ ।