काठमाण्डौ । कन्काई विकास बैंकले झापाको राजगढस्थित राजगढ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेलले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा बिस्तारसँगै बैंकको शाखा सञ्जाल १० पुगेको छ ।

झापाको दमकमा मुख्य कार्यालय भएको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार गर्न बैंकले आफ्नो दशौं शाखा ग्रामिण क्षेत्रमा स्थापना गरेको हो । शाखाको उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक रामु पौडेलले कृषिजन्य उत्पादनको व्यापारमा राजगढबासीलाई बैंकले सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरे । उनले राजगढ र आसपासका ग्रामीण क्षेत्रमा कृषिजन्य उपजको व्यवसाय प्रवद्र्धन गर्दै वित्तीय सेवाको पहुँच बढाउनेमा आफूू ढुक्क रहेको बताए ।

उद्घाटन समारोहमा बोल्दै बैंकको संस्थापक अध्यक्ष गुणराज अधिकारी तथा प्रमुख कार्यकारीअधिकृत प्रकाशमान बज्राचार्यले पूूर्वी नेपालमा कन्काई विकास बैंकलाई स्तरीय बैंकका रुपमा स्थापित गर्दै लैजाने बताएका थिए । राष्ट्र बैंकले तोकेको पूँजी ५० करोड बनाउने क्रममा रहेको बैंकलाई यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेको भन्दै बैंकका सञ्चालक तथा व्यवस्थापकले सबै पक्षको सुझावको अपेक्षा गरेका छन् । कार्यक्रममा श्रम तथा यातायात सहायक मन्त्री टेकनारायण राजबंशीले बैंकलाई प्रतिष्ठित संस्थाको रुपमा स्थापित हुँदै उच्च गुणस्तरको सेवा प्रदान गर्न शुभकामना व्यक्त गरेका थिए । 

बैंकले झापाको दमक, काकडभिट्टा, विर्तामोड, गौरादह र झिलझिल तथा मोरङको पथरी र खोर्साने तथा इलामको मंगलबारे र राँके गरी ९ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आएको थियो । मोरङको विराटनगर र इलामको बिब्ल्याँटे वजार तथा तिनघरे बजारमा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको बैंकले निकट भविष्यमा नै ती शाखा सञ्चालनमा ल्याउँदैछ । 

नेपाल राष्ट्र बैंकबाट २०६४ बैशाख ५ गते इजाजत पाएको बैंकले २०६४ बैशाख २० देखि ‘ख’ वर्गको वित्तीय संस्थाका रुपमा सेवा सुरु गरेको थियो । चुक्तापूँजी १२ करोड ५० लाख रुपैंया रहेको बैंकले २ सय १४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । त्यसैगरी, गत वर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको बैंकको हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ४७ करोड रुपैंया पुग्नेछ ।

तीन जिल्लामा गरी २२ हजार सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले एक अर्ब २७ करोड रुपैंया निक्षेप संकलन गरी १ अर्ब ११ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । कृषि, व्यशाय, व्यक्तिगत, सामाजिक, अटो, बिना धितो सामुहिक कर्जा लगायतमा आक्रामक उपस्थिती जनउँदै आएको बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, आईएमई रेमिट, नबिल रेमिट, सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, एक्सप्रेस मनी लगायत सञ्जालको रेमिट्यान्स सेवा पनि दिंदै आएको छ ।