काठमाण्डौ । हकप्रदको भारी बोकाएर नेपाल राष्ट्रबैंकले  तोकेको चुक्तापूँजी पुर्याउने बैंक तथा बित्तीय संस्थाहरुलाई तिनकै सेयरधनीले समेत पत्याउन छाडेका छन् । यसैको पछिल्लो उदाहरण बनेको छ कन्काई विकास बैंक लिमीटेड । 

झापाको दमकमा मुख्य कार्यालय रहेको यो बैंकले साउन ९ देखि भदौ ११ गते सम्म हकप्रदको बिक्री खुल्ला गरेकोमा धेरै सेयरधनीले भर्र्नै चाहेनन् । यहीकारण यो बैंकले समेत संस्थापकतर्फको ३ लाख ८१ हजार ६ सय ५० कित्ता र सर्वसाधारणतर्फको १ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 

आइतबार एक सूचना प्रकाशित गर्दै यो बैंकले असोज ३१ गतेदेखि अबितरित हकप्रदको लिलामी खुल्ने जनाएको हो । इच्छुक लगानीकर्ताले कात्तिक १० गतेभित्र तोकिएका स्थानमा गएर आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकको हकप्रद लिलामीका लागि बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिट लिमीटेडले गर्नेछ । यसको अर्थ इच्छुकले बिक्री प्रबन्धकको नक्साल(नारायचौर, काठमाण्डौ)स्थित मुख्य कार्यालयमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

इच्छुक लगानीकर्ताले प्रति कित्ताका लागि न्यूनतम १ सय रुपैयाँ मूल्यको बोल लगाउनुपर्नेछ भने न्यून्त १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । संस्थापक समूहको हकमा भने विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाइने सूचनामा उल्लेख छ । 

परेका बोलपत्रहरु कात्तिक १२ गते बिक्री प्रबन्धकको कार्यालय परिसरमा खोलिने बताइएको छ ।