coffee
काठमाण्डौ । तपाईंले कहिले सोच्नुभएको छ, तपाईंको आदतका कारण नै कयौं मानिसले करोडौं रुपैयाँ कमाइरहेका छन् । हाम्रो कुरा सुनेर तपाईं भन्नुहोला, किन मजाक गरिरहेको सम्पादक ज्यू ? तर हामीले मजाक गरेको होइन, यथार्थ भनिरहेका हौ । विश्वमा केही मानिस यस्ता पनि छन् जो हाम्रो सौख, हाम्रा आदतहरुको फाइदा उठाएर निकै राम्रो पैसा कमाइरहेका छन् ।
आउनुहोस्, आज हामी तपार्इंलाई यस्तै केही विदेशी मानिसहरुको कथा सुनाउँछौ ।
धेरै मानिस हरेक दिन, हरेक क्षण कफी पिउन मन पराउँछन । कतिपयको त कफीबिना पाइला नै अघि सर्दैन । यस्ता मानिसहरुको यस्तै आदतबाट इटलीका जुलियन लेक्नरले लाखौं रुपैयाँ कमाइरहेका छन् । वास्तवमा हामी जुन कफी पिउँछौ, त्यसलाई बनाएपछि पिँधमा कफीको दाना वा टुक्रा बच्छ । यिनै बेकारको जस्तो लाग्ने चिजहरुबाट जुलियन कफीको कप र प्लेट बनाउने गर्छन ।
उनलाई यो आइडिया एकदिन निकै धेरै कफी पिउने क्रममा फुरेको थियो । पढाई पूरा गरेपछि उनले जर्मनीमा यसका लागि एउटा उद्योग नै स्थापना गरे । हिजोआज ६ कप कफी बनाएपछि पिँधमा बचेको दानाबाट जुलियन एउटा कप तयार गर्छन् ।
कफीको दानाबाट बनेको कप र प्लेटको मूल्य २२ डलर राखिएको छ । यो निकै महंगो रहेछ भन्ने सोचिरहनुभएको होला । तर यो कपमा कफी नै नहाले पनि अन्य चिज यसमा राखेर पिउँदा कफीकै मीठो बास्ना आइरहन्छ । यो कपमा चिया राखेर पिउनुभयो भने पनि त्यसमा निकै मीठो स्वाद आउँछ । जुलियनले ४० हजार यूरो ऋण लिएर कफी फार्म नामको एक कम्पनी नै सुरु गरेका थिए ।
उनले हरेक दिन तमाम कफी पसलबाट हरेक महिना ५ सय किलो कफीको बचेको दाना खरीद गर्छन् र यसबाट कप प्लेट बनाउँछन । यस्तो दानालाई संकलन गरेर जुलियनले नै लिइदिने भएपछि धेरै कफी सपलाई फोहोरको रुपमा कफी बनाएपछि बचेका दाना फाल्नुपर्ने झञ्झट पनि हुन्न । जुलियनले आफूले लिएको ऋण तिरिसकेपछि कफीको दानाबाट बनेको कप र प्लेट अझ सस्तो दरमा बिक्री गर्ने योजना बनाएका छन् ।
जुलियन जस्तै हुन् अमेरिकाका अमन आडवाणी । उनी कुनै बेला आफ्नो जुराफ गन्हाउने र दिनभरि लगाएका कारण भिज्ने समस्याबाट दिक्क थिए ।
एकदिन यात्राकै क्रममा उनमा कफी बनाएपछि बच्ने दानाको मद्धतबाट मोजा बनाउने आइडिया फूर्यो । अमनले एक प्रतिष्ठित कम्पनीको विजिनेश सल्लाहकारको जागिर छाडे र एक साथीको मद्धतबाट ‘मिनिस्ट्री अफ सप्लाई’ नामको कम्पनी सुरु गरे ।
अमन पोलिस्टरको धागोमा कफीको दाना मिलाएर नयाँ रेशा बनाउँछन । फेरि यसैको मद्धतबाट नयाँ तरिकाको जुराफ बनाउने काम गर्छन । यस्तो जुराफ निकै आरामदायी हुन्छ । र, यो जुराफ जति लगाए पनि गन्ध आउँदैन । यो जुराफलाई अन्य जुराफजस्तै लगाउन सकिन्छ । लगातार १० दिनसम्म लगाउँदा समेत अमनले कफीको टुक्राबाट बनाएका जुराफ गन्हाउँदैन ।
तर, उनी सल्लाह दिन्छन् कि नगन्हाए पनि यो जुराफ प्रत्येक दिन धोएरै लाउने गर्नुहोस् । अमनले उत्पादन गर्ने जुराफ ४० प्रतिशत कफीको दानाबाट उत्पादन हुने रेशा र बाँकी ६० प्रतिशत पोलिस्टरको रेसाबाट बन्ने गर्छ । उनी पनि आफ्नो उद्योग वरपरका सबै कफी पसलले फोहोरको रुपमा फ्याक्ने कफीको काम नलाग्ने दाना प्रत्येक दिन संकलन गर्छन ।
अमनजस्तै व्यवसायी हुन् ताइवानका जेसन चेन पनि ।
उनी चाहि कफी बनाएपछि फाक्ने दानाको मद्धतबाट कपडा तयार गर्ने काम गर्छन् । उनले बनाएको यो कपडा निकै चर्चित ब्राण्ड अमेरिकन इगल, टिम्बरल्याण्ड र एलएल बिनले समेत आफ्नो प्रोडक्टमा प्रयोग गर्छन ।
जेसनको कपडामा १ देखि डेढप्रतिशत भाग कफीको हुन्छ । कुनै बेला आफ्नी पत्नीको साथमा एक कफी क्याफेमा गएको बेला जेसनको दिमागमा यस्तो आइडिया फुरेको थियो । त्यहाँका मालिकले कफी बनाएपछि बाँकी रहेको फोहोर समानको दानालाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा केही आइडिया जेसनसँग मागे । त्यहीबेला जेसनकी पत्नीले जिस्किएर आफ्नो कपडामा लगाउनुहोस् यी कफीका टुक्रा, कम्तीमा गन्ध त आउदैन् भनेर मजाक गरिन् । यही कुराले जेसनको दिमागमा लड्डू फूट्यो र कफीको दानालाई कपडा बनाउने काम सुरु गरे ।
कफीको दानाबाट बनेको कपडाको व्यापार गरेर आज जेसनले करोडौैको कारोबार गरिरहेका छन् । आजको समयमा जेसनको उद्योगले हरेक दिन ५ सय केजी कफीको दानाको प्रयोग गरी एस फेब्रिक्स नामबाट कपडा बनाइरहेका छन् । जेसनको यो व्यापार चम्किएसँगै आसपासका सबै कफी सपहरुको कफी बनाएपछि दाना(फोहोर) फाल्ने लफडा समेत अन्त भएको छ ।
कफी बनाएपछि बचेका दानाहरुको प्रयोगबाट कतिपयले ब्रिकेट बनाउने गरेका छन् भने कतिपयले खेतमा प्रयोग हुने खाद मल समेत बनाउने गरेका छन् ।
कफी बनाएपछि बचेको दाना र टुक्राटुक्रीको सबैभन्दा गजबको प्रयोग त ब्रिटेनकी रोजाली म्याकमिलनले गरिरहेकी छिन् ।
यस्ता टुक्राटुक्रीको मद्धतबाट उनले चाहि गरगहना बनाउने गर्छिन । यस्ता गरगहनामा उनले सुन र चाँदी समेत मिसाउने गर्छिन । रोजालीले हालै जावा ओर नामबाट आफ्नो कफीबाट बनाइएको गहनालाई बजारमा उतारेकी छिन् । उनले कफीको टुक्राको मद्धतबाट चूरा, नेक्लेस, औंठी र कानमा लगाउने गहना बनाउने गर्छिन ।
उनले कफीबाट बनाउने गरेको यो खास गहना अनलाइनबाट समेत किन्न पाइन्छ । ब्रिटेनका कयौ ठूला स्टोरहरुले समेत उनले बनाएको यो अनौठो उत्पादन बिक्री गर्छन । यस्ता गहनाको मूल्य १ सयदेखि ५ सय डलरसम्म राखिएको हुन्छ ।
यी सबैभन्दा भिन्न छन् इण्डोनेशियाका कलाकार घिदाक अल निजार, जो कफी बनाएपछि फालिने दानाको मद्धतबाट आर्ट तयार गर्छन् ।
यस्तो आइडिया उनमा पनि कफी पिएपछि पिँधमा जम्मा भएको दाना र टुक्राटुक्री देखेर आएको थियो । त्यसपछिदेखि नै उनले आफ्नो आर्टमा कफीको मिश्रण गर्न थालेका हुन् । अहिले उनी कफीको सुगन्ध आउने पेन्टिङ बनाउने गर्छन् । यो कार्यबाट कफीको दानाको समेत सही प्रयोग भइरहेको छ र पैसा समेत आर्जन भइरहेकै छ ।
आजको समयमा इन्स्ट्राग्राममा उनको एउटा कफी आर्टको मूल्य ७० हजार रुपैयाँ भन्दा बढी राखिएको छ ।
अतः देख्नुभयो त तपाईंले, कफी पिउने हाम्रो आदतले कतिलाई करोडपति बनाइरहेको रहेछ ?
बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago