काठमाण्डौ । भोडाफोनले आउँदो ३ वर्षभित्र ११ हजार कर्मचारी कटौती गर्ने भएको छ। 

यो टेलिकम कम्पनीका नयाँ सीईओ मार्गरिटा डेला भ्यालेले कर्मचारी कटौतीको घोषणा गरेकी हुन्। रोजगारी कटौतीको प्रभाव थुप्रै देशमा पर्ने देखिएको छ। 

हाल भोडाफोनको विश्वर १ लाख ४ हजार कर्मचारी कार्यरत छन्। सीईओ भ्यालले कम्पनीको काम अझै सहज बनाउने योजनाअन्तर्गत कर्मचारी कटौतीको निर्णय लिइएको बताएकी छन्। उनले भनिन्, ‘लगातार सेवा प्रवाह गर्न भोडाफोनलाई परिवर्तन गर्न आवश्यक छ।’

भ्यालेले गत जनवरीबाट भोडाफोनको सीईओको जिम्मेवारी सम्हालेकी थिइन्। उनी फाइनान्स डायरेक्टरका रुपमा पनि काम गरिरहेकी छन्। 

सीईओ भ्यालेले आफ्नो प्राथमिकतामा उपभोक्ता नै रहेको बताएकी छन्। ‘हामी कम्पनीको सेवा अझै सरल बनाउने योजनामा लागेका छौँ’, उनले भनिन्, ‘हामी आफ्नो साधनस्रोतको प्रयोग गरेर आफ्ना उपभोक्ताका लागि गुणस्तरीय सेवा दिन र कम्पनीको बिजनेस बढाउने रणनीतिमा लागेका छौँ।’

यसका लागि आउँदो ३ वर्षभित्र ११ हजार कर्मचारी कटौती गर्नुपर्ने देखिएको पनि सीईओ भ्यालले बताइन्। –एजेन्सी