काठमाण्डौ । सञ्चालनमा आएका दुई जीवन लघुबीमा कम्पनी गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रोलाइफले उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन्। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई लघुबीमा कम्पनीले २ लाख ५ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। सञ्चालनमा आएको डेढ महिनामा नै यी दुई जीवन लघुबीमा कम्पनीले व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको हो। गार्डियन माइक्रो लाइफले १ लाख ४१ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ भने क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले हाल म्यादी जीवन बीमा पोलिसीमार्फत व्यवसाय गरिरहेको छ। गत असार २२ गतेदेखि लघुबीमा व्यवसाय सुरु गरेको गार्डियन माइक्रो लाइफले भविष्यमा कम्पनी विस्तारसँगै चलेका प्रोडक्टहरु पनि लन्च गर्ने योजना बनाएको छ। 

नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, आजीवन तथा अन्य जीवन बीमा योजनाहरु बिक्री गर्न पाउने प्रावधानअनुरुप हाल गार्डियन माइक्रो लाइफले म्यादी जीवन बीमा पोलिसी बिक्री गरिरहेको छ। यसका साथै कम्पनीले भविष्यमा धनफिर्ता बीमा योजनासमेत ल्याउने तयारी गरेको कम्पनीका सिइओ चिरायु भण्डारी बताउँछन्। 

कम्पनीले बीमितको सहजतालाई मध्यनजर गर्दै वेबसाइट र एपबाटै पोलिसी खरिद गर्न सकिने सुविधासमेत रहेको छ। कम्पनीको विजनेश ग्रोथ गर्न शाखा विस्तारमा जोड दिने सीईओ भण्डारीले बताए। ‘यो आर्थिक वर्षलाई १८ वटा शाखा विस्तार गर्ने योजना रहेको छ’, उनले भने, ‘कर्मचारीहरु थप गरी ३ हजार एजेन्टमार्फत पोलिसी बिक्री गर्ने जमर्को गरिरहेका छौँ।’ 

बीमा अभिकर्ता र शाखा कार्यालय विस्तारसँगै विजनेस पनि स्वतः बढ्दै जाने सीईओ भण्डारीले बताए।  

त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफले पनि औपचारिक रुपमा कार्यालय उद्घाटन गरेको एक महिना नबित्दै ६४ हजार प्रिमियम कलेक्सन गर्न सफल भएको छ। कम्पनीले साउनदेखि मात्रै औपचारिक रुपमा व्यवसाय सुरु गरे पनि लघुबीमाको लाइसेन्स प्राप्तपश्चात् असारदेखि नै व्यवसाय गरेको थियो। 

बीमा प्राधिकरणका अनुसार लघुबीमाको लाइसेन्स पाएपछि व्यवसाय सुरु गर्न पाउनेछ। साउन १० गतेबाट औपचारिक व्यवसाय थालनी गरेको क्रेष्ट माइक्रो लाइफले हाल म्यादी जीवन बीमा पोलिसीबाट सेवा प्रदान गरिरहेको छ। कम्पनीले बीमा प्राधिकरणबाट स्वीकृत भएबमोजिम अन्य पोलिसीहरुमार्फत सेवा दिने योजना रहेको बताएको छ। 

दुर्गम क्षेत्रका बासिन्दालाई मध्यनजर गर्दै जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ। ‘बीमितको सुविधालाई मध्यनजर गर्दै सावधिक, अग्रिम भुक्तानी र चाइल्ड प्रोडक्ट गरी तीनवटा पोलिसी एक्चुरिमा प्रस्ताव पेश गरेका छौँ’, कम्पनीका सीईओ प्रतापमान श्रेष्ठले भने, ‘यसका साथै राइडर पोलिसीअन्तर्गत एक्सिडेन्टल डेथ, टोटल पर्मानेन्ट डिसाबिलिटी र प्रिमियम वेबरको समेत सुविधा रहेको छ।’

कम्पनीको बिजनेसलाई थप चुस्तदुरुस्त बनाउन सुर्खेत जिल्लाको ७९ वटा पालिकालाई समेट्ने गरी शाखा विस्तार गर्ने योजना रहेको सीईओ श्रेष्ठ बताउँछन्। ‘कम्तीमा एउटा शाखाले ३–४ वटा पालिकालाई समेट्ने गरी शाखा खोल्ने योजना रहेको छ’, उनले भने, ‘पोलिसीहरु पनि थप्दै शाखा विस्तारमा जोड दिएपछि अबको केही महिनामै हाम्रो बिजनेस ग्रोथ हुन्छ।’