काठमाण्डौ । जनता बैंक नेपालसँग मर्जर भाँडिएपछि नेपाल राष्ट्रबैंकले तोकेको समयमा ८ अर्ब चुक्तापूँजी पुर्याउने कसरतमा रहेको माछापुच्छे बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद निश्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

सो बैंकले हकप्रदको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । 

बैंकले हालको चुक्तापूँजीको ५० प्रतिशत हकप्रद सेयर निश्कासनको तयारी थालिएको बताएको छ । बैंकको हाल चुक्तापुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । 

बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिभिल क्यापिटलका प्रमुख कार्यकारी पराग बिष्टले हस्ताक्षर गरेका बताइएको छ । 

घोषित हकप्रद निश्कासन र व्यवस्थानपछि बैंकको चुक्तापूँजी ५ अर्ब ७९ करोड पुग्नेछ । यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा ८९ करोड खूद नाफा आर्जन गरेको छ ।