काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर अझै घट्दै जाने उल्लेख गरेको छ । साथै उसले कर्जा लगानी बढ्दै जाने पनि बताएको छ।

बुधबार अर्थ समितिमा आयोजित छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर थप घट्ने बताएका हुन्  । उनले चालू आर्थिक वर्ष २०८०/ ०८१ मा बैंकहरुको ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको बताए ।

साथै  उनले २०७९ माघमा वाणिज्य बैंकहरूको भारित औसत कर्जाको व्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको व्याजदर थप घटाउदै लगेको हुँदा कर्जाको व्याजदर थप घट्न गइरहेको उनको भनाइ थियो ।