काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा सपाट तथा सुविधा सीमा प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई एउटै समूह मानिने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले बैंकहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था छ। यसका लागि राष्ट्र बैंकले विभिन्न व्यवस्था कायम गरेको छ।
आपसी सम्बन्ध भएका ग्राहकहरुलाई एउटै समूह मानिने व्यवस्था कर्जा सापट तथा सुविधा सीमाको प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई देहायका अवस्थामा एउटै समूह मानिनेछ–
- कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता दुवै कम्पनीहरु,
- कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार,
- फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी,
- खण्ड (ख) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्तरुपमा अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता कम्पनीहरु,
- खण्ड (ख) मा उल्लिखित व्यक्तिहरुले एक्लै वा संयुक्त रुपमा अर्को कम्पनीको २५ प्रतिशतभन्दा कम सेयर लिएको भए पनि त्यस्तो कम्पनीको व्यवस्थापनमा देहायका किसिमबाट नियन्त्रण भएका त्यस्ता कम्पनीहरु–
(१) सञ्चालक समितिको अध्यक्ष भई,
(२) कम्पनीको कार्यकारी प्रमुख भई वा
(३) कम्पनीको सञ्चालकहरुमध्ये २५ प्रतिशतभन्दा बढी सञ्चालकहरु नियुक्त गरी।
- एकै समूहका भनी आवद्ध रहेका फर्म, कम्पनी वा त्यस्ता समूहका सदस्यहरु,
- खण्ड (ख) बमोजिम एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएको भए त्यस्ता ग्राहक वा कम्पनीहरु।
- तर, राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत आयोजनाको हकमा कुनै ग्राहकले जमानत दिएको आधारमा मात्र आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहमा नपर्ने गरी शर्तहरु तोकी छुट दिन सकिने छ। तोकिएको समयमा त्यस्ता आयोजना सम्पन्न नभएमा यस्तो छुट स्वतः रद्द हुनेछ।
- एउटै धितोमा एकभन्दा बढी व्यक्तिहरुलाई कर्जा प्रवाह गरेको भए त्यस्ता व्यक्तिहरु,
- फर्म, कम्पनी बाहेक अन्य संस्थाहरुको हकमा सो संस्था सञ्चालन, नियन्त्रण वा व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्ति वा निजको एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी।
- एउटा ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहकहरुको अभिलेख अर्धवार्षिक रुपमा तयार गरी १ महिनाभित्र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनुपर्ने व्यवस्था पनि एकीकृत निर्देशनमा गरिएको छ।
- नेपाल सरकारको पूर्ण वा ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको संगठित संस्था वा कम्पनीलाई छुट्टै (अलग) समूहको रुपमा लिइने व्यवस्था रहेको छ।