काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै गए पनि कर्जा प्रवाहले गति लिन सकेको छैन। 

नेपाल राष्ट्र बैंकको कडा नीतिगत व्यवस्था र महँगो ब्याजदरका कारण बैंकहरुसँग पर्याप्त लगानीयोग्य रकम (तरलता) रहे पनि कर्जा प्रवाह सोचेजस्तो हुन सकेको छैन। कर्जा प्रवाहले गति नलिँदा पुँजीबजारलगायत समग्र अर्थतन्त्र सुस्त बनेको छ। 

त्यसो बैंकहरुबाट कर्जा लिनका लागि राष्ट्र बैंकले विभिन्न नियम बनाएको छ। ती नियममा तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै बैंकहरुले आफ्ना ग्राहकलाई ऋण उपलब्ध गराउन सक्छन्। 

त्यसो त ऋणी ग्राहकले कर्जा तिरिसकेपछि कति दिनमा धितो फुकुवा हुनुपर्छ भन्ने कुरामा खासै ध्यान दिएका हुँदैनन्। यसका लागि राष्ट्र बैंकले निर्देशनमार्फत समयसीमाको व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै ऋण तिरिसकेका ग्राहकको धितो ५ कार्यदिनभित्र फुकुवाका लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्ने व्यवस्था रहेको अवगत गराएको छ। ‘राष्ट्र बैंकबाट जारी निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्दाको सर्तबमोजिम असुलउपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको ५ कार्यदिनभित्र धितो फुकुवाका लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्दछ’, सूचनामा भनिएको छ।

सर्तबमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपश्चात यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाका लागि ढिलासुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी वा राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने सूचनामा जनाइएको छ।