काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या ८.१४ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको भदौ मसान्तसम्म ४ लाख ४५ हजार ३७१ रहेको निर्जीवन बीमालेखको संख्या चालु आर्थिक वर्षको यसै अवधिसम्म घटेर ४ लाख ९ हजार ८० कायम भएको हो । 

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार निर्जीवन बीमालेखको संख्या गत वर्षको तुलनामा ८ प्रतिशतले घट्न पुगेको छ।

प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाब दिएसँगै १२ कम्पनी गएका थिए । मर्जरपछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा केही सुधार देखिए पनि बीमालेखको संख्या भने खुम्चिँदै गएको छ । 

निर्जीवन बीमा व्यवसाय धानेको मोटर बीमालेखको संख्या नै घट्दा निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा नै संकुचन देखिएको छ । गत वर्ष २ लाख ५२ हजार ३८५ रहेको मोटर बीमालेखको संख्या ७.३३% ले घटेर २ लाख ३३ हजार ८६० मा कायम भएको छ । 

बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीइओ चंकी क्षेत्रीले वर्तमान समयमा निर्जीवन बीमा व्यवसायमा मोटरको ठूलो हिस्सा हुने र हाल मोटरको खरिदबिक्री खासै नभएको कारण निर्जीवन बीमामा मोटर बीमालेखको संख्यासँगै व्यवसाय समेत घटेको बताए । 

‘निर्जीवन बीमामा आधाभन्दा बढी व्यवसाय मोटर बीमा र सम्पत्ति बीमाले धानेको छ, तर मोटरको लेनदेन तथा खरिदबिक्री नै कम हुँदा बीमालेखको संख्या पनि घट्नु स्वभाविक नै हो ।’ उनले भने, ‘तर विस्तारै बैंकहरुले सवारी खरिदका लागि हायरपर्चेज लोन दिइरहेका छन् अब विस्तारै निर्जीवन बीमामा बीमालेखको संख्या बढेर व्यवसाय पनि बढ्नेछ ।’ 

गत वर्ष ८९ हजार ६६३ रहेको सम्पत्ति बीमालेखको संख्या भने यस वर्ष १.६०% ले बढेर ९१ हजार १०१ पुगेको छ । 

त्यस्तै, विविध बीमालेखको संख्या १५.१०% ले घटेर २७ हजार ९०९, सामुन्द्रिक बीमालेखको संख्या ४.७८% ले घटेर २५ हजार ९९५, कृषि तथा बीमा बीमालेख २६.६९% ले घटेर २४ हजार ३१८, इञ्जिनियरिङ तथा ठेक्कापट्टा बीमालेखको संख्या २७.८५% ले घटेर २ हजार ७४६, लघुबीमालेखको संख्या ४९.०६% ले घटेर ३ हजार १३३ र हवाई बीमालेखको संख्या २५% ले घटेर १८ मा कायम भएको छ ।