काठमाण्डौ। केन्द्रीय बैंकले कर्णाली प्रदेशमा निक्षेप संकलन बढेको जनाएको छ। 

केन्द्रीय बैंकले शुुक्रबार आर्थिक गतिविधि अध्ययन २०७८/७९ को अर्धवार्षिक प्रतिवेदन (कर्णाली प्रदेश) प्रकाशित गरेकोमा आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्ममा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप गत आर्थिक वर्षको सोही अवधिको निक्षेपको तुलनामा १३. ५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ७९ लाख ८० हजार पुगेको देखिएको हो। अघिल्लो वर्ष सोही अवधिमा यस्तो निक्षेप ३७.३७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४३ करोड पुगेको थियो। 

प्रतिवेदनअनुसार समीक्षा वर्षमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको देखिन्छ। यद्यपि राष्ट्रियस्तरमा नै देखिएको तरलता अभावका कारणअनुमान गरेबमोजिम निक्षेप संकलन भएको पाइँदैन।

समीक्षा अवधीमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ३०.७३ प्रतिशतले बढेर ५५ अर्ब ७५ करोड ४० लाख पुगेको छ। अघिलो वर्षको सोही अवधिमा यस्तो कर्जा २१.३९ प्रतिशतले बढेर ४२ अर्ब ६४ करोड ८० लाख ७० हजार पुगेको थियो। कोरोना संक्रमणको प्रभाव न्यून हुँदा लगानिको अनुकुल वातावरण सिर्जना भई अर्थतन्त्र चलायमान हुँदै गएकोले कजर्न विस्तारमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। 

यसका साथै सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि तथा मौद्रिक नीतिले प्रदान गरेका अन्य विभिन्न छुट तथा सुविधाहरु नै कर्जा विस्तारमा आएको वृद्धिका कारक तत्वहरु रहेको राष्ट्र बैंकले जनाएको छ।