काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा नरहेको जनाएको छ।

राष्ट्र बैंकको सुर्खेत कार्यालयले आर्थिक वर्ष २०७८–७९ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रदेशका सबै जिल्ला तथा क्षेत्रमा विद्युत आपूर्ति साथै इन्टरनेटको पहुँच पुगिनसकेको हुँदा अझै पनि वित्तीय सेवा तथा सुविधाहरु पर्याप्त मात्रामा पुग्न नसकेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म डोल्पामा कुनै पनि बैंकको एटीएम मेसिन रहेको छैन। हुम्ला र मुगुमा समान २ वटा एटीएम मेसिन रहेका छन् भने कालिकोटमा ४ वटा, जाजरकोटमा ५ वटा तथा दैलेखमा ८ र जुम्लामा ९ वटा एटीएम मेसिन रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ। 

यस्तै रुकुम पश्चिम, सल्यान र सुर्खेतमा क्रमशः १० वटा, ११ वटा र ३७ वटा एटीएम रहेका छन्। यसरी हेर्दा कर्णाली प्रदेशमा जम्मा ८८ वटा मात्र एटीएम मेसिन रहेको देखिन्छ । सोही प्रदेशमा एटीएम मेसिनलाई सोलार उर्जाले धान्न गाह्रो हुने तथा एटीएम बिग्रेको अवस्थामा समयमा मर्मतसम्भार हुन् नसक्दा बैंकको प्रतिष्ठामा ह्रास आउने डरले बैंकहरु एटीएम बुथका लागि अग्रसर नभएको राष्ट्र बैंकको सर्खेत कार्यालय जानकारी दिएको छ।

शाखारहित बैंकिङ

राष्ट्र बैंकको सर्खेत कार्यालयको २०७९ असार मसान्तसम्मको तथ्यांङ अनुसार कर्णाली प्रदेशमा ४१ वटा शाखारहित बैंकिङ छन्। यस्तो सेवा प्रवाहमा सुर्खेत सबैभन्दा अगाडि रहेको छ। यहाँ १६ वटा शाखारहित बैंकिङ रहेको देखिन्छ। दैलेख, रुकुम पश्चिम, सल्यान र कालीकोटमा क्रमशः ८ वटा, ३ वटा, ५ वटा र ३ वटा शाखारहित बैंकिङ रहेका छन्। 

त्यस्तै हुल्ला र मुगुमा समान २ वटा तथा जाजरकोटमा १ वटा शाखारहित बैंकिङ रहेको देखिन्छ। बाँकी दुई जिल्लाहरु डोल्पा र जुम्लामा भने यो किसिमको सेवा प्रवाह अझैसम्म पनि सुरु नभएको प्रतिवेदनमा भनिएको छ।

डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड

कर्णाली प्रदेशमा २०७९ असार मसान्तसम्ममा कुल २ लाख ५४ हजार ६७२ डेबिट कार्ड प्रयोगकर्ता रहेका छन्। जसमा सबैभन्दा बढी सुर्खेतमा १ लाख २९ हजार २६६ र सबैभन्दा कम डोल्पामा ३ हजार ३२४ डेबिट कार्ड प्रयोगकर्ता छन्। 

उक्त अवधिमा यस प्रदेशमा कुल २ हजार ५८५ जना क्रेडिट कार्ड प्रयोगकर्ता रहेकोमा सबैभन्दा बढी क्रेडिट कार्ड प्रयोगकर्ता सुर्खेतमा १ हजार ८०५ जना र सबैभन्दा कम हुम्लामा १५ जना रहेको राष्ट्र बैंकले जनाएको छ। 

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ

राष्ट्र बैंकले २०७९ असार मसान्तसम्ममा कर्णाली प्रदेशमा ५ लाख ५६ हजार १९० जना मोबाईल बैंकिङ प्रयोगकर्ता रहेको जनाएको छ। जसमा सबैभन्दा बढी २ लाख २२ हजार ७३२ मोबाइल बैंकिङ प्रयोगकर्ता सुर्खेतमा र सबैभन्दा कम प्रयोगकर्ता डोल्पमा १३ हजार ४४० जना छन्। 

२०७९ असार मसान्तसम्ममा यस प्रदेशमा जम्मा ११ हजार ३८० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन्। जसमा सबैभन्दा बढी ७ हजार ९३१ इन्टरनेट बैंकिङ प्रयोगकर्ता सुर्खेतमा र सबैभन्दा कम प्रयोगकर्ता हुम्लामा ७४ जना रहेका छन्। 

४५५ शाखाबाट वित्तीय सेवा प्रदान

२०७९ असार मसान्तसम्मको तथ्यांकअनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल ४५५ शाखा रहेका छन। आर्थिक वर्ष २०७७–७८को सोही वर्षसम्म यस प्रदेशमा जम्मा ४०६ वटा शाखामात्र रहेका थिए । १ वर्षमा ४९ नयाँ शाखा विस्तार भई ४५५ पुगेका हुन्। जसमा वाणिज्य बैंकका १९९ वटा, विकास बैंकका २१ वटा, वित्त कम्पनीका ३ वटा र लघुवित्त वित्तीय संस्थाका २३२ वटा रहेका छन्।