-प्रकाश बञ्जारा
यूएई । सूचना प्रविधिले विश्वमा ठूलो फड्को मारिरहँदा हामी नेपालीहरु भने भर्खरै “स्मार्ट सिटी” भन्ने शब्दका लागि आफूलाई अभ्यस्त पार्न खोज्दैछौ । केही समयअघि मात्र सम्पन्न भएको नेपालको स्थानीय निकायको निर्वाचनमा अधिकांश जनप्रतिनिधिहरुले स्मार्ट सिटी बनाउने थुप्रै सपना जनतालाई बाँडे । “स्वभाविक रुपमा उच्च विकसित शहरलाई स्मार्टसिटिको नामबाट हेरिने गरेको भएता पनि स्मार्टसिटि के हो र कसरी बनाउने भन्ने कुराको हेक्का सबै जनप्रतिनिधिमा छैन ।”–दुवईमा सूचना प्रविधिको क्षेत्रमा झण्डै ८ बर्षदेखि काम गर्दै आएका कास्कीका रमेश प्रसाई भन्छन् ।  उच्च प्रविधिको विकासमार्फत कम मानवीय भारमा सबै तहका कामहरु गर्न देशमा राजनीतिक स्थायीत्व हुनुपर्ने उनको भनाई छ ।
प्रविधिको विश्वमा तीव्र विकास भइरहेको बेला नेपाललाई कसरी स्मार्ट बनाउने भन्ने बिजशालाको प्रश्नमा चितवनका प्रविण क्षेत्री भन्छन्–“विश्वले ठूलो फड्को मारिसक्यो, हामी १ २ बर्षमै ठूलो परिवर्तनको आशा त गर्न सक्दैनौ, तर पनि स्मार्टसिटि नेपालमा असम्भव भने छैन ।”
क्षेत्रीको बुझाईमा स्मार्टसिटिको पहिलो खुड्किलो स्मार्ट शिक्षा हो । बच्चाहरुलाई नर्सरीदेखि नै स्मार्ट र एड्भान्स शिक्षा दिन सके हरेक क्षेत्रमा अटोमेटिक स्मार्टनेस भित्रिने क्षेत्री बताउँछन् । ११ बर्षअघि गेस्ट सर्भिस असिस्टेन्टको रुपमा युएई छिरेका क्षेत्री आज युएईकै एक प्रख्यात कम्पनीका आईटि असिस्टेन्ट म्यानेजर हुन् । आर्टिफिसियल इन्टेलिजेन्स र यसले पारेको प्रभावको बारेमा कुरा गरिरँहदा स्मार्टं अवधारणाहरुलाई जोगाइराख्न साइवर सेक्युरिटिलाई दरिलो पार्नुपर्ने उनको सुझाव छ । “स्मार्ट अवधारणालाई दरिलो पार्न साइबर सेक्युरिटिमा खर्च गर्नुपर्छ । आजभोलि ह्याकरहरु महत्वपूर्ण डाटा चोर्न निकै लागि पर्छन् ।”–क्षेत्री भन्छन् ।
उसो भए प्रविधि र प्रभाव हाम्रो देशमा कसरी भित्र्याउने ? विश्वले पेपरलेस कामकाजको अवधारणा लागू गरिसक्यो, प्राईभेट कम्पनीहरुले पनि सबै काम कम्प्युटर र ईन्टरनेटको माध्यमबाटै गर्न थालिसके, हामी त्यो अवस्थामा कसरी पुग्ने ? क्षेत्रीको विचारमा नेपालमा त्यो काम विद्यालय स्तरबाट शुरु गर्न सकिन्छ । “हाम्रो देशमा शिक्षाको गुणस्तर विस्तारै माथि उक्सदै छ, पहिलो चरणमा विद्यालर्थीलाई चाइल्ड होमवर्क मेलमार्फत पठाउने, सरकारी कार्यालयहरुमा मल्टिपेमेन्ट सिस्टमहरु ल्याउने लगायतका काम आजैबाट गर्न सकिन्छ ।” उनले हाम्रो जिज्ञासा समाधानको प्रयास गरे ।
उनको भनाईमा प्रविधिको सहयोगले १० जनाले गर्न सक्ने काम एकै जनाले गर्न सक्छन्, जसले समयको बचत हुनुका साथै सेवाग्राहीले समेत सहज र स्मार्ट सेवा लिन सक्छन् ।
बढ्दो आर्टिफिसियल ईन्टेलिजेन्सको प्रभावले धेरै रोजगार खोसिन सक्ने कुरामा भने क्षेत्री सहमत छैनन् । भन्छन्–“मानवको दिमाखलाई प्रविधिले जित्न सक्दैन, सिस्टमको विकास भएता पनि त्यसलाई सञ्चालन र सुरक्षा तथा निर्माण र पुननिर्माण गर्न जनशक्ति चाहिन्छ ।”
तर, पनि भविष्यमा हुनसक्ने क्राईसिसबाट बच्न अबका युवापिढीले फाईनान्स, विज्ञान, तथा सूचनाप्रविधि जस्ता विषयमा अध्ययन गर्नुपर्ने क्षेत्रीको सुझाव छ । समय र परिवर्तनसँगै हाम्रा पाठ्यक्रममा पनि प्रविधि भित्रिनसके हाम्रा भावी सन्ततिले स्मार्टसिटिको प्यास मेट्नसक्ने उनले बताए ।
बुटवल घर भई हाल दुवईको एक कम्पनीमा काम गर्दै आएका विकास श्रेष्ठ नेपालमा पनि प्रविधिको विकास भइरहेको बताउँछन् । “तीव्र गतिमा हुन सकेको छैन, त्यो अलग कुरा हो, तर विकास नै नभएको भने हैन।” श्रेष्ठ भन्छन् । ४ बर्षदेखि दुवई मलस्थित एक कम्पनीको आइटी सेल्समा काम गर्ने विकास नेपाललाई स्मार्ट बनाउन राजनीतिक स्थिरताको आवश्यकता औल्याउँछन् । अबका युवा जनशक्तिले अँग्रेजीको ज्ञान बढाउनुका साथ साथै प्राविधिक शिक्षा हासिल गरे भविष्यमा बेरोजगार हुने अवस्था नआउने उनको अनुमान छ । ज्ञान र सीप हातमा भए स्वतन्त्र भएरै प्रविधिको क्षेत्रमा स्वरोजगार बन्न सकिने धारणा राख्ने विकास फोटोग्राफी तथा भिडियोग्राफीका क्षेत्रमा पनि भविष्यमा रोजगारका बाटाहरु खुल्ने बताउँछन् ।
देश विकासको अर्को पाटो भनेको बनेका नीति नियमहरुको पालना नहुनुु पनि हो भन्ने श्रेष्ठ कानून नमान्नेहरुको जमात बढेकै कारण दण्डहीनता मौलाएको र देश नबनेको दाबी गर्छन् ।
सुनसरी इनरुवा घर भएका शिवनन्दन मेहता ३ वर्षदेखि युएईकै सारजाहास्थित एक कम्पनीमा प्रविधिको काम गर्छन् । मेहताको बुझाईमा खानेपानी, बिजुली, सफा सडक, सुरक्षित र भरपर्दो यातायात भएको शहर स्मार्ट सिटि हो । गर्न चाहे नेपालमा स्मार्ट सिटि असम्भव नभएको बताउने मेहता देशले विकासको गति नलिनुको दोष राजनीतिक खिचातानीलाई दिन्छन् ।
प्रविधिको विकास यति तीव्र गतिमा बढेको छ कि कतिपय प्रविधिको विकास भएका समाचारहरु त हामीलाई विश्वास गर्न पनि गाह्रो हुन्छ । जस्तो कि विभिन्न देशहरुले ग्राहकको सेवामा रोबोटकै प्रयोग गरिसके । सडकमा गुड्ने सबै गाडीहरु विद्युतीय बनाउने योजनामा लागेको विश्वले ड्राइभरलेस कार, हवाईजहाजभन्दा पनि छिटो गुड्नसक्ने रेल, २ घण्टाको बाटो १२ मिनेटमै यात्रा गर्न सक्ने हाइपरलुप लगायतका नयाँ सिर्जना गरेर अगाडि बढेका छन् । यस्तो पनि भयो होला र ? कसरी भयो, कहाँ भयो अनि कसले गर्यो, हामी गर्ने कि नगर्ने ? कहिले गर्ने र कसरी गर्ने ? यी युवाहरुको जिज्ञासा हुन् ।
विदेशमा काम गरिरहेका शिक्षित जनशक्तिको बुुझाईमा राजनीतिक स्थायीत्वसँगै सत्तामा पुुगेका दलहरुले प्रतिबद्धता जनाए झै विकासको काम तीव्र गतिमा अगाडि बढ्न सके हाम्रै पालामा स्मार्टसिटीको सपना साकार हुनेमा दुुईमत छैन ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19